झापा। जेन–जी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोल झापामा फेला परेका छन्। सो प्रकरणमा संलग्न तीनजना युवालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ का २६ वर्षीय सरोज पुरी, र इलाम चुलाचुली–४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूको साथबाट दुई थान पेस्तोल तथा २० राउण्ड गोली बरामद गरिएको हो।

गएराति दमक इलाका प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले दमक–८ मा डेरा गरिरहेकै अवस्थामा सरोज पुरीलाई कोठा बाहिर हिँडडुल गरिरहेको समयमा नियन्त्रणमा लिएको थियो। उनको साथबाट ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ।

सोधपुछका क्रममा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ रहेको बयान दिएपछि प्रहरीले लिङ्देनलाई घरमै पुगेर नियन्त्रणमा लिएको थियो।

थप सोधपुछमा लिङ्देनले सो हतियार पवन हाङसुङ्वालाई रु २० हजारमा बेचेको स्वीकार गरेपछि प्रहरी टोली हाङसुङ्वाको बारीमा पुगेको थियो। त्यहाँ खाल्डो खनेर लुकाइएका अवस्थामा ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान तथा पाँच राउण्ड गोली पेस्तोलमै लोड गरिएको अवस्थामा फेला परेको हो।

बरामद दुवै हतियार तथा २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय