
काठमाडौं : राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर छिटोछरितो पासपोर्ट बनाइदिने भन्दै सेवाग्राहीलाई झुक्याउने, अतिरिक्त रकम असुल्ने र हैरानी दिने बिचौलिया समूहविरुद्ध प्रहरीले कडा कदम चालेको छ। विशेष सूचनाको आधारमा सञ्चालन गरिएको निगरानीपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये पाँचथर फाल्गुनन्द–४ का २६ वर्षीय सञ्जय आङ्देम्बे, शंखरापुर–६, काठमाडौंका ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–३ का २५ वर्षीय प्रेमबहादुर लामा, सोही स्थानकी १८ वर्षीय भगवान तामाङ, सुर्खेत बराहताल–१० का ३० वर्षीय टेकबहादुर सुनार, दोलखा भिमेश्वर–२ का ३० वर्षीय साजन श्रेष्ठ, रामेछाप–५ का ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ तथा चौतारा साँगाचोकगढी–३ का ३८ वर्षीय जीवन लामा रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेका व्यक्तिहरूले राहदानी छिटो बनाइदिने प्रलोभन देखाई अनावश्यक रूपमा रकम असुल्ने, सेवाग्राहीलाई दुःख दिने र राहदानी विभागका कर्मचारीको नियमित कामकारबाहीमा समेत अवरोध पुर्याउने कार्य गर्दै आएका थिए।
प्रहरीले पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको जानकारी दिएको छ।



