
कैलाली — इलाका प्रहरी कार्यालय मालाखेतीको समन्वयमा खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध (खैरो हेरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ। बिशेष सूचनाका आधारमा मिति २०८२/०७/२८ गते राति करिब २२:०० बजे गरिएको चेकजाँचका क्रममा उनीहरू नियन्त्रणमा ल्याइएका हुन्।
लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुर, ईलाका प्रहरी कार्यालय मालाखेती तथा प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले जिल्ला कैलाली, गोदावरी नगरपालिका–५ गेटास्थित SE 6 Pa 7594 नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषध भेटिएको हो।

उक्त मोटरसाइकल जिल्ला कैलाली गोदावरी–५ गेटा बस्ने २० वर्षीय बिजय बिष्टले चलाइरहेका थिए। सोही मोटरसाइकलमा पछाडि सवार गोदावरी–१ बिजौरा बस्ने २५ वर्षीय राज चौधरीको सर्टको खल्तीमा कालो प्लास्टिकभित्र बेरी लुकाइराखिएको अवस्थामा ५ ग्राम ७५० मिलिग्राम हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जानकारी दिएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानकार्य इलाका प्रहरी कार्यालय मालाखेतीले अघि बढाइरहेको छ।



