
सुरक्षा सरोकार । ‘जेन–जी’ प्रदर्शनपछि नागार्जुन क्षेत्रमा पैदल हिँड्नेहरूलाई मोटरसाइकल रोकेर ठाउँको बारेमा सोधपुछ गर्ने र घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने घटनाहरू बढिरहेका थिए। नागार्जुन नगरपालिकास्थित सिङ्गल ट्री, राधाकृष्ण मन्दिर, टेम्पो पार्क र थापाचोक क्षेत्रमा लगातार चार वटा लुटपाटका घटनापछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा खोजी थाल्यो।
यस क्रममा कात्तिक १० गते सिन्धुली घर भई भक्तपुर बस्ने २८ वर्षीय राज लामा र उदयपुर घर भई भक्तपुर बस्ने दुर्गा बहादुर मगर (उर्फ विशाल) लाई प्रहरी वृत्त स्वयम्भुको टोलिले पक्राउ गरेको छ। भक्तपुर सूर्यविनायक–५, तीनधारे बस्ने राजले मोटरसाइकल चलाउँथे भने दुर्गा बहादुर पछाडि बसेर पैदलयात्रीको सिक्री तानेर मोटरसाइकल हुइँक्याउने गर्थे।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, उनीहरूले ललितपुर र काठमाडौँका कम्तीमा सात स्थानमा सिक्री लुटेका छन्। ती दुई जनाको बयानका आधारमा लुटेको सुन किन्ने र बेच्न सघाउने तीन जना सुन व्यवसायी पनि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा — दिल बहादुर बिक (३२ वर्ष), रामेछाप–लिखु तामाकोशी–६ घर भई सल्लाघारीस्थित लक्ष्मीज्वेलर्सका सञ्चालक, गोविन्द सुनार (४० वर्ष), बुढानीलकण्ठ–६ स्थित बाग्लुङ कालिका ज्वेलर्सका सञ्चालक, र दिपेश रसाइली (२२ वर्ष), काठमाडौँ–२२ मा मनु जेम्स एण्ड ज्वेलर्स सञ्चालन गर्ने रहेका छन्।
प्रहरीका अनुसार, दिल बहादुरले सिक्री बेच्न सघाएका थिए भने गोविन्द र दिपेशले खरिद गरेका थिए।
पुराना अपराधीको पुनः सक्रियता —
पक्राउ परेका राज लामा र दुर्गा बहादुर मगर दुबै जना पटके अपराधी भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीको सीआरएस रेकर्ड अनुसार, राज लामालाई यसअघि चार पटक पक्राउ गरी विभिन्न मुद्दा चलाइएको थियो। जनसेवा वृत्तबाट २०८० साउन र भदौमा चोरी मुद्दा, ललितपुरबाट २०८० साउनमा चोरी र २०७९ पुसमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको पाइएको छ।
राज अहिले पनि पुराना मुद्दामा अदालतमा तारिख धाइरहेका थिए। उनको साथबाट अदालतको तारिख पर्चा समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानले उनी अदालत धाउँदै नयाँ अपराध गर्दै आएको निष्कर्ष निकालेको छ।
त्यस्तै अर्का , दुर्गा बहादुर मगरविरुद्ध पनि तीन वटा मुद्दा दर्ता भएका छन्—
• प्रहरी वृत्त सोह्रखुट्टेबाट २०८२ जेठमा चोरी,
• चापागाउँ वृत्तबाट २०८१ भदौमा अभद्र व्यवहार,
• सातदोबाटो वृत्तबाट २०७९ असारमा चोरीसम्बन्धी मुद्दा दर्ता भएको भेटिएको छ।
सात ठाउँमा सिक्री लुटपाट —
प्रहरी अनुसन्धान अनुसार, राज र दुर्गा बहादुरले पछिल्ला महिनाहरूमा सात स्थानमा सिक्री लुटेका छन्।
• असोज ७ गते ललितपुरको नख्खुमा साढे १ तोलाको सिक्री लुटपाट,
• असोज २३ गते नागार्जुन–३ सिङ्गल ट्रीमा,
• असोज २६ गते ललितपुरको बुद्धचोकम,
• कात्तिक १ गते नागार्जुन–१ राधाकृष्ण मन्दिर नजिक र रामकोट टेम्पोपार्कमा सिक्री लुटपाट,
• सोही दिन नागार्जुन–५ थापाचोकमा पैदलयात्रीको झोला र मोबाइल लुटपाट,
• कात्तिक १ कै दिन बालाजु नेपालटारमा २ तोलाको सिक्री लुटिएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
प्रहरीले आरोपितहरू विरुद्ध अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरी वृत्त स्वयम्भुका टोलीले उनीहरूको साथबाट चोरीमा प्रयोग भएका दुईवटा मोटरसाइकल र थप दुई मोटरसाइकलका कागजात समेत बरामद गरेको छ।
एसपी पवन भट्टराईका अनुसार, लुटपाटमा संलग्न गिरोहलाई कानुनी दायरामा ल्याउन थप अनुसन्धान जारी रहेको जानकारी दिनु भयो ।



