
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान गोली हानी हत्या गरिएको छ ।
त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहलाई बिहान करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन् ।

गाउँको पूर्वतर्फ रहेको मन्दिरमा साह एक्लै बस्दै आएका थिए । अज्ञात समूहले उनलाई कुटीबाट निकालेर सडकमा पिठ्युँमा गोली प्रहार गरेको बताइन्छ ।
घटना भएको केही मिनेटमै स्थानीयवासीले काचनस्थित प्रहरी चौकीमा खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनबाट संयुक्त प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेको जनाएको छ । शव परीक्षणका लागि पुजारी साहको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन् ।



