
सुरक्षा सरोकार । भदौ २४ गतेको जेनजी आन्दोलनको बेला फरार भएका दुई जना कैदी मोरङमा प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको झुम्का कारागारबाट भागेका २९ वर्षीय अभिषेक जैसवाललाई विराटनगरबाट पक्राउ गरिएको हो। उनी चोरीको स्कुटरसहित विराटनगर–१६ दरैयाबाट नियन्त्रणमा आएका थिए। जैसवाल यसअघि पनि मोटरसाइकल चोरीको मुद्दामा पक्राउ परेका थिए र जिल्ला अदालत सुनसरीले उनलाई ५ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। भदौ २४ गते राति अन्य कैदीबन्दीसँगै उनी झुम्का कारागारबाट फरार भएका थिए। प्रहरीले चोरी गरिएको स्कुटर समेत बरामद गरेको छ र बाँकी कैद अवधि पूरा गर्न उनलाई झुम्का कारागार पठाउने तयारी भइरहेको छ।

त्यस्तै, सिन्धुली कारागारबाट फरार भएका ३९ वर्षीय उपेन मण्डल बिहीबार दिउँसो मोरङको धनपालथानबाट पक्राउ परेका छन्। मण्डल जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भई ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गर्दै थिए। उनी पनि भदौ २४ गते सिन्धुली कारागारबाट फरार भएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार फरार भएपछि मण्डल आफ्नै घर फर्किएका थिए। उनलाई प्रहरीले घरबाटै पक्राउ गरी बाँकी कैद अवधि पूरा गर्न जिल्ला कारागार सिन्धुली पठाउने तयारी भइरहेको डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।



