
धनुषा— ढल्केवर प्रहरीले ३७.०९ ग्राम लागूऔषध खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिराहा जिल्लाका निराजन यादव र सप्तरी जिल्लाका रोहन कुमार सिंह रहेका छन्।

प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्ग हुँदै मोटरसाइकलमा सवार यी व्यक्तिहरू प्रतिबन्धित लागू औषध बोकी पश्चिमतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ढल्केवरको टोली खटिएको थियो।
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ता चौक नजिकै पूर्व–पश्चिम लोकमार्गमा चेकपोइन्ट खडा गरी जाँच गर्दा पछाडि सवार व्यक्ति भाग्ने प्रयास गरेका थिए।
जिल्ला सिराहा मिर्चैया नगरपालिका–७ का २४ वर्षीय निराजन यादवले मोटरसाइकलबाट हाम फालेर झाडीमा बोकेको कालो प्लास्टिकको पोका फालेका थिए। उक्त पोका संकलन गर्दा कुल ३७.०९ ग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
उनीहरू विरुद्ध लागुऔषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता गरिएको छ। धनुषा जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



