
काठमाडौं । हालैको जेन जी आन्दोलनका क्रममा राजधानीमा भएको झडपमा प्रहरी सहायक हवलदार अमृत गुरुङको मृत्यु प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाली लम्किचुवा घर भई हाल करिब २१ वर्षीय अनुपम भण्डारी रहेका छन्। उनलाई असोज १३ गते इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाइएको काठमाडौं प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।

प्रहरीका अनुसार, भण्डारीमाथि आन्दोलनकै क्रममा कोटेश्वर प्रहरी प्रभागमा कार्यरत प्रहरी सहायक हवलदार गुरुङमाथि आक्रमण गरी घाइते बनाएको र उपचारका क्रममा उनको मृत्यु भएको आरोप छ। घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान र भूमिकाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी परिसरका एक अधिकारीका अनुसार, घटनाको प्रकृति गम्भीर भएकाले विस्तृत अनुसन्धान अघि बढाइएको छ। हाल पक्राउ परेका युवकसँगै अन्य संलग्न व्यक्तिहरुको खोजी तथा प्रमाण संकलनको कार्य भइरहेको छ।
उक्त घटनापछि राजधानीसहित विभिन्न स्थानमा सुरक्षा कडाइ गरिएको छ। आन्दोलनका क्रममा देखिएका हिंसात्मक गतिविधि नियन्त्रणमा लिन र दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीले विशेष रणनीति बनाई काम गरिरहेको जनाएको छ।
प्रहरी सहायक हवलदार अमृत गुरुङ लामो समयदेखि काठमाडौंमा सेवामा खटिएका थिए। उनका पार्थिव शरीरलाई परिवारको उपस्थितिमा अन्त्येष्टि गरिएको छ।
यसैबीच, नागरिक समाजका प्रतिनिधिहरुले आन्दोलनका नाममा हिंसात्मक गतिविधि नगरी संयमता अपनाउन आग्रह गरेका छन्। प्रहरी प्रशासनले भने दोषीलाई कानुनी कारबाही गर्ने तर निर्दोषलाई नफसाउने प्रतिबद्धता जनाएको छ।