सुरक्षा सरोकार । वीरगन्जमा भएको ग्याङ फाइटमा एक युवकको मृत्यु भएपछि प्रहरीले मुख्य अभियुक्तसहित पाँच जनालाई ४८ घण्टाभित्रै पक्राउ गरेको छ।

गत असोज १४ गते राति वीरगन्ज–१० निवासी शिवम साह कानु (गोल्डेन) को भाटो प्रहारबाट मृत्यु भएको थियो। घटनापछि प्रहरीले ‘अप्रेसन च्यालेन्ज’ नामक विशेष रणनीति सञ्चालन गरी अनुसन्धानमा सफलता हासिल गरेको हो।

पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकका अनुसार घटनामा संलग्न वीरगन्ज–२४ का गौतम पटेल, सुभांकर चौरसिया, करण पटेल, चन्दन चौरसिया र अमन पटवा पक्राउ परेका हुन्। प्रहरीले अनुसन्धान र विश्लेषणका आधारमा उनीहरू घटनामा संलग्न रहेको ठोस प्रमाणसहित विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गर्दै एसपी पाठकले मृतक कानुको हत्या व्यक्तिगत रिसइबी (इगो) का कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

कानु सामान्य परिवारका थिए र हाल वीरगन्ज–९ मा बस्दै आएका थिए। भारतबाट काम गरेर फर्किएका उनी दश दिनअघि मात्र एक छोराका पिता बनेका थिए। दशैं मेलामा हेर्न घरबाट निस्किएका बेला राति साढे ११ बजेतिर उनको भिडन्त ‘टोले गुण्डा’ का रूपमा स्थापित हुन खोज्ने युवाहरूको समूहसँग भएको थियो।

उनीहरूले ‘दरिन्दे खुङ्खार समूह’ नामक ह्वाट्सएप ग्रुप बनाएर बजारमा प्रभुत्व जमाउने प्रयास गरिरहेका थिए। पुरानो रिसइबीका कारण विवाद बढेपछि कानुमाथि भाटो प्रहार गरिएको थियो। गम्भीर घाइते भएका कानुको नारायणी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।

घटनापछि एसपी पाठकको निगरानीमा प्रहरी निरीक्षक निरोज चौलागाईँको कमाण्डमा ३२ जना प्रहरी परिचालन गरी ‘अप्रेसन च्यालेन्ज’ सञ्चालन गरिएको थियो।

सुरुवातमा एक दर्जनभन्दा बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो। पक्राउ परेकामध्ये अमन पटवा सँग गरिएको प्राविधिक अनुसन्धानबाट प्रहरीले घटनाको ‘क्लु’ पत्ता लगाएको थियो। सो आधारमा अन्य अभियुक्तलाई पनि नियन्त्रणमा लिइएको हो।

प्रहरीले घटनामा प्रयोग गरिएका भाटासमेत बरामद गरेको छ। अनुसन्धानमा खुलेको तथ्यअनुसार ‘दरिन्दे खुङ्खार समूह’ ह्वाट्सएप ग्रुप बनाउने मुख्य योजनाकार गौतम पटेल नै रहेका थिए।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। उनीहरूमाथि ‘ज्यान सम्बन्धी कसुर’ मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको छ। दशैं बिदाका कारण अदालत बन्द रहेकाले खुलेलगत्तै म्याद थप गरिने प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय