काठमाण्डौं:—लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले गोली प्रहार गरी पक्राउ गरेका दुईमध्ये एक पुरुष यसअघि दुई पटक कारागार भोगिसकेको पाइएको छ।

ब्युरोले बुधबार दिउँसो धनुषा जिल्लाको मिथिला नगरपालिका–६, ढल्केबरका ४८ वर्षीय पप्पु साह र बाराको परवानीपुर गाउँपालिका–३, लिपनीमालकी २७ वर्षीया सेलोदेवी रामलाई पक्राउ गरेको हो। लागुऔषध (खैरो हेरोइन) कारोबार गर्न लागेको भन्ने सूचनाका आधारमा ब्युरोको टोलीले मिथिला नगरपालिका–२, नक्टाझिजबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउको क्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरेको र अर्को राउन्डको गोली पप्पुको दाहिने खुट्टामा लागेको बताइएको छ। प्रहरीका अनुसार उनीहरूले प्रहरीमाथि आक्रमणको प्रयास गर्दै भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको हो।

ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार पप्पु यसअघि २०६१ सालमा लागुऔषधको मुद्दामा ब्युरोले नै पक्राउ गरी मुद्दा चलाएको थियो। त्यतिबेला उनी पाँच वर्ष कारागार सजाय भोगी छुटेका थिए। त्यसपछि २०७९ सालमा प्रहरी वृत्त थानकोटले फेरि लागुऔषधकै मुद्दामा उनलाई पक्राउ गरी २ वर्ष कैद सजाय सुनाइएको थियो। उनी करिब ९ महिनाअघि मात्र छुटेका थिए।

यसपटकको घटनामा ब्युरोका इन्स्पेक्टर रोकश यादव र वरिष्ठ सई बालकृष्ण सन्जेलसहितको टोली खटिएको थियो। पक्राउ परेका पप्पुबाट १०८ ग्राम खैरो हेरोइन र सेलोदेवीबाट १०० ग्राम खैरो हेरोइनसहित तौल मापन गर्ने डिजिटल तराजु बरामद भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय