
कैलाली— कैलाली जिल्ला कारागारमा शुक्रबार राति १ बजे दुई समूहबीच भएको झडपमा धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार मृतक चौधरी लागुऔषध मुद्दामा थुनामा थिए।
झडपका क्रममा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो। उनको शव हाल सोही अस्पतालमा राखिएको छ।

घटनामा ४७ जना घाइते भएका छन्, जसमा एकजनाको अवस्था गम्भीर रहेको र उनी आईसीयूमा उपचाररत रहेको प्रहरीले जनाएको छ। बाँकीको सामान्य उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी सिंहले जानकारी दिए।



