
काठमाडौं । सफ्टवेयर कम्पनीको स्रोत संकेत (सोर्स कोड) अनधिकृत रूपमा पहुँच पुर्याई चोरी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुईजनालाई पक्राउ गरेको छ।
ब्युरोका अनुसार प्रारम्भिक प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उनीहरूले बौद्धिक सम्पत्तिमा आघात पुर्याउने मनसायले सोर्स कोड चोरी गरेको देखिएको छ।

पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–४ धोबीघाटमा बस्ने २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन्।
उनीहरूलाई इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा बिहीबार पक्राउ गरिएको हो। उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच/पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिनुभयो।



