
विराटनगर । भारतबाट लागुऔषध ब्राउनसुगर लिएर नेपाल प्रवेश गरेका दुई भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका–१५ स्थित रानीको जानकी मन्दिर अगाडिबाट उनीहरूलाई पक्राउ गरेको हो। उक्त स्थान भारतसँगको सीमा नजिकै पर्छ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्लास्थित फारबिसगञ्ज थानाको रामपुर पञ्चायत–२ का ३५ वर्षीय मो. सिकंदर बाखत र सोही पञ्चायत–१० का ३५ वर्षीय सरफराज रहेका छन्।

शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा मो. सिकंदर बाखतको साथमा सेतो प्लास्टिकमा राखिएको ब्राउनसुगर बरामद गरिएको थियो। बरामद गरिएको लागुऔषध प्लास्टिकसहित १५० ग्राम र शुद्ध १४१ ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक बयानमा उनीहरूले भारतबाट ब्राउनसुगर ल्याई नेपालमा बिक्री वितरण गर्ने गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।



