
काठमाडौं । करिब १३ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका दोषी सुभाष लिम्बुलाई प्रहरीले भारतको देहरादुनबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार २०६१ सालमा ताप्लेजुङको दोमाले बजारमा भएको एक सामूहिक विवादका क्रममा लिम्बु समूहद्वारा एक व्यक्तिको हत्या गरिएको थियो। सो घटनामा संलग्न सुभाष लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङले २०७१ सालमा जन्मकैद बराबर २० वर्ष कैद सजाय तोकेको थियो। तर फैसला पछि उनी फरार भएका थिए।
तत्कालीन खाङसार गा.वि.स.–१ (हाल मिक्वाखा गाउँपालिका–२) निवासी लिम्बु त्यसयता भारतको देहरादुनमा बसोबास गर्दै आएका थिए।
वर्षौँदेखि उनको खोजीमा जुटिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले विशेष सूचनाका आधारमा अनुसन्धानलाई तीव्र बनाएको थियो। प्रहरी निरीक्षक विवेक बस्नेतको नेतृत्वमा खटिएको टोलीले देहरादुनमा निगरानी गर्दै उनलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेपछि सुभाष लिम्बुलाई अदालतको आदेशअनुसार जिल्ला कारागार पठाइएको छ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले भने, “लामो समयदेखि फरार रहेका कैदीलाई पक्राउ गर्नु प्रहरीका लागि ठूलो सफलता हो।”



