जनकपुरधाम — प्रेम सम्बन्धमा टकरावपछि खुकुरी प्रहार गरी एक किशोरीको हत्या र दुई महिलालाई घाइते बनाउने घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९, इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साह रहेका छन्। उनलाई साउन १४ गते राति जनकपुरधाम नजिकैको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार रामबाबुले साउन १२ गते राति करिब ११:३० बजे जनकपुर–४ स्थित डेरामा बस्दै आएकी ३५ वर्षीया आशा यादव, उनकी १६ वर्षीया छोरी अञ्जली यादव र २० वर्षीया भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए।

घटनामा गम्भीर घाइते भएकी अञ्जलीको साउन १३ गते राति १२:३० बजे जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य दुईमध्ये राधाको उपचारपछि डिस्चार्ज गरिएको छ भने आशाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वरुणबहादुर सिंहले अभियुक्त रामबाबु साह विगतमा पनि हत्या अभियोगमा दोषी ठहर भई जेल सजाय भुक्तान गरिसकेको तथ्य सार्वजनिक गरे। उनका अनुसार, रामबाबुले २०७१ सालमा आफ्नै जेठी श्रीमतीको हत्या गरेका थिए र झण्डै पाँच वर्ष जेल बसेका थिए।

जेलमुक्त भएपछि दोस्रो विवाह गरेका रामबाबु पछिल्लो समय आशा यादवसँग प्रेम सम्बन्धमा थिए। सम्बन्धको कारण पारिवारिक दुरी बढेपछि उनीहरू केही समय जनकपुरमा डेरा लिएर सँगै बसेका थिए। आशालाई उनले अटोरिक्सा समेत किनिदिएका थिए, तर त्यसलाई आशाले आफ्ना भाइको नाममा दर्ता गरेपछि सम्बन्ध चिसिन थालेको अनुसन्धानबाट खुलेको छ।

रामबाबुले फोन गर्दा जवाफ नपाउनु, आशाले उनको कानुनी श्रीमतीलाई समेत म्यासेज गरेर झगडा गराउनुजस्ता घटनाले उनी आक्रोशित बनेको प्रहरीको भनाइ छ। घटनाको रात आशाको फोन गालीसहित काटिएको थाहा पाएपछि उनले खुकुरी लिएर डेरामा पुगेका थिए र तीनै जनामाथि आक्रमण गरेका थिए।

प्रहरीले घटनामा प्रयोग गरिएको खुकुरी र भाग्न प्रयोग गरिएको गाडी पनि बरामद गरेको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय