हेटौंडा — मकवानपुर प्रहरीले ठूलो मात्रामा लागुऔषध ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति हेटौंडा उपमहानगरपालिका–१३, आल्दमार निवासी ३० वर्षीय प्रविन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार, आइतबार साँझ करिब ८ बजे शंकास्पद रूपमा हिँडिरहेका लामालाई रोकी जाँच गर्दा उनको साथबाट ३ हजार क्याप्सुल ट्रामाडोल बरामद भएको थियो। प्रारम्भिक बयानमा उनले उक्त लागुऔषध हेटौंडा–१२ निवासी एक व्यक्तिसँग खरिद गरेको स्वीकारेका छन्।

लामाको बयानका आधारमा लागुऔषध बिक्री गर्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी पुग्दा उनले झोला फालेर फरार भएका थिए। उक्त झोलाबाट थप ६ हजार क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका लामामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान अगाडि बढाइएको छ। यसैबीच, फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय