सिरहा — घरेलु विवादका क्रममा भाइले दाजुलाई खुकुरी प्रहार गरी हत्या गरेका छन्। गोलबजार नगरपालिका–३ का २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गर्दा उनका ३५ वर्षीय दाजु मोतीराम सदाको ज्यान गएको हो।

प्रहरीका अनुसार बिहीबार राति श्याम र उनकी १९ वर्षीया श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भएको थियो। उक्त विवादको समाधान गराउन आएका दाजु मोतीरामलाई श्यामले आवेशमा आएर खुकुरी प्रहार गरेका थिए।

इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार मोतीरामको छातीमा गम्भीर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि श्याम खुकुरीसहित जंगलतर्फ भागेका छन् भने हालसम्म पनि फरार रहेको प्रहरीले जनाएको छ। फरार श्यामको खोजी कार्य जारी रहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय