
विराटनगर, साउन ९ । सुनसरीको देवानगञ्ज गाउँपालिका–४ कप्तानगञ्जकी २० वर्षीय एक युवतीले आफूलाई जबरजस्ती करणी गर्ने व्यक्तिलाई गाउँस्तरमा पञ्चायती बैठकमार्फत मिलाउने प्रयास भएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्।
उनले ३५ वर्षीय शनि मेहतामाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्। विवाह गर्ने आश्वासन, गर्भ रहेको हल्ला र आर्थिक प्रलोभनमार्फत आफूमाथि दुव्र्यवहार गरिएको पीडितको भनाइ छ।

पीडितका अनुसार, शनि मेहताले उनलाई धम्की, डर र विभिन्न लोभ देखाएर सम्बन्ध बनाउने प्रयास गर्दै आएका थिए। “तिमीलाई पसल खोलिदिन्छु, बिहे गर्छु भन्नेजस्ता लोभ देखाएर उनले मेरो शरीरमा जबरजस्ती गरे,” युवतीले भनिन्, “पछि बजारमा हल्ला फैलाउँदै चरित्र हत्या गर्न थाल्यो।”
पीडितका आफन्तका अनुसार, प्रहरी चौकी कप्तानगञ्जमा मुद्दा दर्ता गर्न खोज्दा स्थानीय नेताहरू र प्रहरीको मिलेमतोमा पञ्चायती बैठक राखेर मिलापत्रको प्रयास गरिएको थियो। सो क्रममा ३ लाख ८१ हजार रुपैयाँ सुम्पेर घटनालाई दबाउने प्रयास गरिएको आरोप लागेको छ।
उनले मिलापत्रमा सहभागिता जनाउन दबाब दिइएको र घरमा कोही नभएको बेलामा बलात्कार भएको दाबी गरेकी छन्। पूर्व वडाध्यक्ष चन्देश मेहताको घरमा पञ्चायत बसालिएको र कांग्रेसका स्थानीय नेता शम्भुलाल मेहतालगायतले पनि मिलापत्र गर्न दबाब दिएको पीडित पक्षले बताएका छन्।



