
स्याङ्जा — जबरजस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पोखराले २०८१ चैत १० गते तीन महिनाको कैद सजाय सुनाएपछि फरार रहेकी पुतलीबजार नगरपालिका–१३ की ५४ वर्षीया खुमा भनिने खुमकुमारी दर्जी पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनलाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दधिराम न्यौपानेले जानकारी दिए। दर्जीलाई कैद सजाय भुक्तानको लागि जिल्ला अदालत स्याङ्जामा हाजिर गराइएको प्रहरीले जनाएको छ।

२०७० साल फागुनमा घटेको उक्त घटनामा खुमाकी भदैनी पर्ने एक बालिका स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल लैजाँदा अस्पतालमै ती बालिकालाई खुमाकै श्रीमान् रामेश्वर नेपालीले बलात्कार गरेका थिए।
एसपी न्यौपानेका अनुसार घटना बाहिरिएपछि खुमाले सो घटनालाई ढाकछोप गर्ने प्रयास गरेकी थिइन्। गाउँस्तरीय छलफलका क्रममा उनले बालिकालाई औषधोपचार र पालनपोषण गरिदिने आश्वासन दिँदै अस्पताल लगेको खुलेको थियो।
प्रहरीका अनुसार हाल कैद सजाय कार्यान्वयनका लागि दर्जीलाई थुनामा पठाइएको छ।



