सिन्धुली — दुई जनाको विभत्स हत्या गरी २२ वर्षदेखि फरार रहेका एक अभियुक्त केदार सिंह थापा अन्ततः सिन्धुली प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको दुधौली नगरपालिका–१३मा  २०६० साल पुस ६ गते राति धारिलो हतियार प्रयोग गरी पति–पत्नीको हत्या भएको जघन्य घटनामा संलग्न थापालाई प्रहरीले हालै नियन्त्रणमा लिएको हो।

२०६० सालको पुस ६ गते रातको समयमा रत्नबहादुर कार्की (४५ वर्ष) र उनकी पत्नी दुर्गामाया कार्की (४५ वर्ष) लाई घरमै धारिलो हतियार प्रयोग गरी शरीरका विभिन्न भागमा काटिएको थियो। घटनास्थलमा लाशको अवस्था अत्यन्तै विभत्स थियो। हत्या पश्चात् तत्कालीन समयमा जिल्ला प्रहरी कार्यालयद्वारा घटनास्थलमा लाश जाँच मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान गरिएको थियो। मृतकका छोरा दुर्गा बहादुर कार्कीले जिल्ला उदयपुर, कटारी नगरपालिकाका १३ निवासी तत्कालीन ३५ वर्षीय केदार सिंह थापाविरुद्ध किटानी जाहेरी दिएका थिए।

उक्त घटनालगत्तै अभियुक्त थापा गाउँबाट फरार भएका थिए। प्रहरीको निरन्तर निगरानी र अनुसन्धान पश्चात् उनलाई दाङ जिल्लाको लमही नगरपालिका–९, जलकुण्डी क्षेत्रबाट २०८२ असार २३ गते पक्राउ गरिएको हो। उनी त्यहाँ लुकिछिपि बस्दै आएको जानकारीमा आएको प्रहरीले जनाएको थियो।

हाल थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई थप अनुसन्धान भइरहेको एसपी लालध्वज सुवेदिले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय