मानिस समाजमा बाँधिएर बस्ने सामाजिक प्राणी हो, जसका लागि कानुनको पालना अनिवार्य हुन्छ। कानुनले समाजलाई व्यवस्थित राख्ने र प्रत्येक नागरिकलाई अधिकार तथा कर्तव्य प्रदान गर्ने संरचना हो। यदि कुनै व्यक्तिले कानुन नजानेर उल्लङ्घन गर्‍यो भने पनि उसलाई माफी दिइँदैन, किनकि “कानुनको अज्ञानता क्षम्य हुँदैन” भन्ने सिद्धान्त कानुनी शासनको आधारभूत नियम हो।

कानुनको अज्ञानता क्षम्य नहुने कारण—

कानुनी व्यवस्थाले सबै नागरिकलाई समान रूपमा व्यवहार गर्छ। मुलुकी देवानी संहिता २०७४ को दफा ५ मा पनि “कानुनको अज्ञानता क्षम्य हुँदैन” भन्ने व्यवस्था छ। यस अन्तर्गत, कसैले कानुन नबुझेर वा नजानेर गल्ती गरे पनि उसले कानुनी कारबाही भोग्नुपर्छ। उदाहरणका लागि, यदि कसैले आवेशमा आएर हत्या गर्‍यो भने “मलाई कानुन थाहा थिएन” भन्ने बहानाले उसलाई उन्मुक्ति दिइँदैन।

कानुनी चेतना अभावको असर—

अधिकांश सर्वसाधारण नागरिक कानुनका प्रावधानहरूबाट अनभिज्ञ छन्, जसका कारण उनीहरू अनजानमै कानुनी फन्दामा पर्न बाध्य हुन्छन्। कानुनी ज्ञानको अभावले निम्न समस्या उत्पन्न गर्न सक्छः

1. अनावश्यक कानुनी झमेलामा पर्न सक्ने

2. अपराधीहरू कानुनी अज्ञानताको फाइदा उठाउन सक्ने

3. न्याय प्राप्त गर्न कठिनाइ हुने

4. अन्याय सहन बाध्य हुने अवस्था सिर्जना हुने

कानुनको समानता र दायित्व—

कानुनले सबैलाई समान व्यवहार गर्छ, चाहे सामान्य नागरिक होस् वा प्रधानमन्त्री। कानुनी शासन भएको मुलुकमा कानुनको पालना राज्य र नागरिक दुवैको दायित्व हो। नागरिकले कानुनी व्यवस्था पालना गर्नुपर्छ भने राज्यले कानुन कार्यान्वयन गराउनुपर्छ।

कानुनलाई जान्नु, बुझ्नु र यसको पालन गर्नु प्रत्येक नागरिकको कर्तव्य हो। कानुनी ज्ञानको अभावले समाजमा अन्याय र अराजकता निम्त्याउन सक्छ। त्यसैले, “कानुनको अज्ञानता क्षम्य हुँदैन” भन्ने सिद्धान्तलाई आत्मसात गर्दै सचेत नागरिक बन्ने, कानुनी शिक्षा हासिल गर्ने र कानुनको पालना गर्ने जिम्मेवारी हाम्रै हो।

लेखक- दिनेश जैशी कक्षा ११ मा अध्यानरत कानुनका बिध्यार्थी हुन् ! 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय