
नेपालमा राजनीतिक परिवर्तनपछि नेपाल प्रहरी संगठन बोल्ड हुन नसक्नुको प्रमुख कारण संगठन प्रमुखको फितलो नेतृत्व र अपर्याप्त तयारी हो। संगठन प्रमुखले नीतिगत निर्णय लिन र आवश्यक सुधार गर्न नसक्दा प्रहरी संगठन कमजोर हुँदै गएको छ।
१. संगठन प्रमुखको नियुक्तिमा राजनीतिक मोलमोलाइ—

नियमित प्रक्रिया अनुसार सरकारले नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको तयारी एक महिना अगाडि नै गर्नुपर्छ। तर, सरकारमा रहेका राजनीतिक दलहरू मोलमोलाइमा लाग्छन्, जसले संगठनलाई नै अस्थिर बनाउँछ। जब कुनै व्यक्तिले राजनीतिक सम्झौतामा आधारित नियुक्ति स्वीकार गर्छ, त्यही दिनदेखि संगठनको अधोगति सुरु हुन्छ।
२. संगठन प्रमुखको कमजोर अध्ययन र प्रविधिमैत्रीता—
संगठन प्रमुखहरूले प्रहरी संगठनको भित्री पक्ष बुझ्नुभन्दा बाहिरी आबरणमा मात्र रमाउने प्रवृत्ति देखिन्छ। न त उनीहरू प्रहरी संगठनको गहिराइमा पुगेर अध्ययन गर्छन्, न त प्रविधिमैत्री नीति अपनाउँछन्।
३. गुटउपगुटको प्राथमिकता—
स्पष्ट वक्ता, फिल्डमा दक्ष, विश्लेषणात्मक क्षमता भएका, जटिल परिस्थितिलाई गम्भीर ढंगले ट्याकल गर्न सक्ने, प्रजातान्त्रिक चरित्र भएका प्रहरी अधिकारीहरूलाई निरुत्साहित गर्ने प्रवृत्ति देखिन्छ। संगठन प्रमुखको प्राथमिकता गुटउपगुटका मानिसहरू नै बन्छन्, जसले संगठनलाई बलियो बनाउन नसकी भक्तिभावमा मात्र रमाउने संस्कृति स्थापित गर्छ।
४. अवकाशपछिको पदको लोभ—
प्रहरी संगठनका उच्च अधिकारीहरू जागिरे जीवनपछि संवैधानिक निकायहरूमा नियुक्ति पाउने लोभमा राजनीतिक दलहरूप्रति नमस्तक हुने प्रवृत्ति बढ्दो छ। यसले संगठनको स्वतन्त्रता र निष्पक्षतालाई कमजोर बनाएको छ।
५. गृहमन्त्रीलाई खुसी पार्ने प्रवृत्ति—
गृहमन्त्रीहरूलाई खुसी पार्न प्रहरी नेतृत्वले जिम्मेवार निकायमा अनावश्यक हस्तक्षेप गर्ने, असम्बन्धित विषयहरूमा पनि बयान दिने प्रवृत्ति देखिएको छ।
६. राजनीतिक दलहरूको आन्तरिक अस्थिरता—
नेपालका राजनीतिक दलहरू प्रणालीगत सुधारभन्दा व्यक्तिवादी शैलीमा शक्तिको प्रयोग गर्न अभ्यस्त छन्। सरकार अस्थिर भइरहने, शक्ति सन्तुलन बिग्रने, र नेताहरू प्रहरी संगठनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्न खोज्ने प्रवृत्तिले संगठनलाई थिलथिलो पारेको छ।
सुधारका लागि आवश्यक कदम—
प्रहरी संगठनभित्र गिरेको मनोबललाई उठाउन बहुआयामिक र गतिशील नेतृत्व आवश्यक छ। नेतृत्वले दृढ इच्छाशक्ति, निरन्तर साधना, त्याग, धैर्य, जिम्मेवारी, निष्ठा, आदर्श र व्यावहारिक आचरण प्रदर्शन गर्नुपर्छ।
नेपाल प्रहरी संगठनमा अहिले “काम पर्दा जर्सी गाई, काम सकिएपछि खसी काटी” भन्ने प्रवृत्ति गहिरो रोगको रूपमा विकास भएको छ। २०४६ सालपछि राज्यका सबै निकायहरू राजनीतिकरण भए, जसमा नेपाल प्रहरी पनि अछुतो रहन सकेन।
सरकार परिवर्तन भएपछि जिल्लाका प्रहरी प्रमुखहरू स्थानीय नेताहरूको सिफारिसमा नियुक्त हुने प्रवृत्तिले सुशासनको परिभाषा नै बदलिएको छ।
अबको प्रहरी नेतृत्व चलायमान, गतिशील, आम प्रहरीको साझा आस्था र विश्वासको केन्द्र बन्न सक्ने, समाजका विभिन्न वर्गलाई समेट्न सक्ने, प्रहरी संगठनको हितमा राजनीतिक दलहरूसँग समन्वय गर्न सक्ने, आवश्यक पर्दा तर्क–विर्तक गर्न सक्ने र निडर साहसी व्यक्तित्व हुनुपर्छ।
यस्तो नेतृत्वले नेपाल प्रहरी संगठनलाई मजबुत बनाउने मात्र होइन, प्रहरी सुधारका लागि कोशेढुंगा सावित हुनेछ।
लेखक— राजेन्द्र बाबु रेग्मी अवकास प्राप्त एसपी हुनहुन्छ ।



