नेपालको रोजगारीको अवस्था नियाल्दा, कतिपय अवस्थामा दुःख सुख नभनी वृद्धभत्ता खाँदै वा बृद्ध हुन लागेका बा-आमाको कमाइले पढेका युवाहरू योग्यताअनुसारको रोजगारी नपाउँदा निराश बन्नु परेको छ। मेहनत गरेर पढेको पनि बेकारजस्तै लाग्ने अवस्था छ।

इतिहास हेर्दा, योग्यता केही नभए पनि खान, लगाउन, बस्न सहजै मिल्थ्यो र जीवनमा सन्तुष्टि पाइन्थ्यो। तर, अहिले हरेक कुरामा पूर्ण हुन खोज्दा पनि घरपरिवारबाट टाढा रहेर संघर्ष गर्नुपर्ने, योग्यता भएर पनि अवसर नपाउने समस्या विकराल बन्दै गएको छ। बेरोजगारीले नेपाली युवाहरूलाई निराश बनाइरहेको छ।

नेपालको हालको राजनीतिक अवस्था हेर्दा झनै दुःख लाग्छ। यदि योग्यताअनुसार रोजगारीको उचित व्यवस्था गरिएको भए, देशका सक्षम युवा-युवतीहरू खाडी मुलुकमा श्रम गर्न बाध्य हुने थिएनन्। गरिबीमा हुर्केर, बा-आमाको पैसा खर्च गरेर शिक्षा हासिल गर्ने अनि फेरि गरिबीमै फर्कनुपर्ने विडम्बना छ। रोजगारी नपाएर ऋण लिएर विदेश जानुको पीडा त कल्पना गर्न मात्रै पनि हृदय चसक्क हुन्छ।

समस्या समाधान कहिले?

नागरिकहरूको योग्यता र दक्षताअनुसार रोजगारीको सिर्जना कहिले हुने? गरिबीबाट देश उन्मुक्ति पाउने दिन कहिले आउने? यी प्रश्नहरूको जवाफ खोजिनुपर्छ।

नेपालका राजनीतिक दल र नेताहरूले भाषणमा भनेजस्तो व्यवहारमा देखाउने हो भने, विकासका काम अगाडि बढ्ने थिए र शतप्रतिशत नेपाली विदेशिनुपर्ने बाध्यता रहने थिएन। यदि नेपालमा शिक्षा प्रणाली आधुनिक, रोजगारमुखी, र अवसरयुक्त बनाइएको भए, यदि यहाँकै शिक्षण संस्थाहरू Oxford जस्ता स्तरीय भएको भए, पढ्दै जागिर पाउने व्यवस्था मिलाइएको भए—कति राम्रो हुने थियो! तर वास्तविकता भने भ्रष्टाचार, घुसखोरी, र राजनीतिक अकर्मण्यताले देशलाई थिचिरहेको छ।

नेताहरूको भाषण सुन्दा मात्र आशा पलाउँछ, तर जब परिणाम हेर्छौं, निराशा बाहेक केही पाइँदैन। यस्ता प्रवृत्तिले नेपालका नागरिकहरूको आक्रोश चुलिँदो छ।

हाम्रो चाहना: परिवर्तनको लहर

अब नेपालको अवस्था परिवर्तन हुनुपर्छ। रोजगारीको उचित व्यवस्था हुनु आवश्यक छ। गरिबी र भोकमरीको अन्त्य गर्न रणनीतिक योजना लागू गरिनुपर्छ।

विकासले नयाँ गति लिनुपर्छ, जहाँ शिक्षा, रोजगारी, र आत्मनिर्भरता सबै नागरिकका लागि समान रूपमा उपलब्ध होस्।

सबैभन्दा महत्वपूर्ण कुरा—पढाइअनुसार, योग्यता अनुसार, र लगानीअनुसार उचित रोजगारीको अवसर सिर्जना गरिनुपर्छ। नेपाली नागरिकहरूलाई विदेशीनुपर्ने अवस्था नआओस्, उनीहरूले आफ्नै देशमा भविष्य खोज्न सकून्।

नेपाल पनि अन्य विकसित मुलुकझैं परिवर्तन भएको देख्न पाइयोस्। हरेक नागरिक स्वतन्त्रताका साथ बाँच्न सकून्।

समृद्ध नेपालका लागि शुभकामना!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय