
काठमाडौं — ठमेलमा ड्युटिमा खटिएका प्रहरीमाथि आक्रमण भएको घटना गम्भीर छ। अपराधीहरूले प्रहरीमाथि हातपात र आक्रमण गर्ने प्रवृत्ति बढ्दै गएको छ, जसको संगठनात्मक रूपमा प्रतिरोध गर्न आवश्यक छ। तर, नेपाल प्रहरी संगठनले यस्तो आक्रमणविरुद्ध उभिने हिम्मत गर्न सकेको देखिँदैन।
व्यक्तिगत रूपमा मेरो अनुभव पनि यही देखिन्छ। दरबारमार्ग प्रहरी प्रमुखको रूपमा कार्यरत रहँदा, सेनाको एक टुकडीले क्याप्टेनको नेतृत्वमा प्रहरी कार्यालयमै आक्रमण गरी एक प्रहरी निरीक्षक, एक प्रहरी सहायक निरीक्षक, र एक प्रहरी जवानलाई अपहरण गरेर भैरवनाथ गण पुर्याई चरम यातना दिएको थियो। तर, प्रहरी संगठनका उच्च अधिकारीहरूले उनीहरूलाई बचाउन कुनै पहल गरेनन्। कोही कसैले चासो नदेखाएपछि मैले आफैं अगाडि सरेर ती प्रहरीलाई छुटाउन भूमिका खेलेको थिएँ। यसको बदलामा, तत्कालीन प्रहरी महानिरीक्षक ओम राणाको निर्देशनमा मलाई अनुचित आरोप लगाएर छानबिनसमेत सुरु गरियो। पैसा खाएको प्रमाणित गर्न नसकेपछि ‘व्यवहार रुखो भएको’ भन्दै मलाई कारबाही गरियो।

यस्तै, धनुषामा प्रहरी निरीक्षक रहँदा, तत्कालीन सञ्जय टक्लाका केही मानिसले जनकपुर बजारमा एक प्रहरी सहायक निरीक्षकमाथि हातपात गरेका थिए। जानकारी पाउनासाथ घटनास्थल पुगेँ र दुई जनालाई नियन्त्रणमा लिएँ। तर, तत्कालीन प्रहरी प्रमुख सञ्जय सिंह बस्नेतले उनीहरूलाई छुटाउन दबाब दिए। म नमानेपछि, उनीहरूले मलाई चार दिन ‘क्याम्पस बाहिर’ पठाएर एक अभियुक्तलाई छुटाउने मौका लिए।
नेपाल प्रहरी संगठनमा वरिष्ठ अधिकारीहरू आफू अगाडि बढ्नका लागि तल्लो तहका प्रहरी कर्मचारीहरूलाई प्रयोग गर्छन्, तर उनीहरू समस्यामा पर्दा कुनै चासो देखाउँदैनन्। यो सामन्ती सोचले संगठनलाई कमजोर बनाएको छ।
अहिले ठमेलमा भएको प्रहरीमाथिको आक्रमणमा संलग्न सबै अपराधीलाई कानूनअनुसार कारबाही गरिनुपर्छ। प्रहरीमाथि हातपात गर्ने कुनै पनि अपराधीलाई उन्मुक्ति दिनुहुँदैन।
लेखक : आभुषण तिम्सिना अवकाश प्राप्त पुर्व प्रहरी अफिसर हुनहुन्छ ।



