• राजेन्द्रबाबु रेग्मी , पुर्व एसपी नेपाल प्रहरी

नेपाल प्रहरीका पूर्व उच्च पदस्थ अधिकृतहरू अवकाश लिएपछि राजनीतिमा प्रवेश गर्ने क्रम तीव्र बन्दै गएको छ। जागिरे जीवनभर संगठनप्रतिको आस्था, विश्वास र सुधारभन्दा पनि व्यक्तिगत छवि निर्माणमा केन्द्रित देखिने धेरै वरिष्ठ अधिकारीहरू सेवाका समयमा नै सामाजिक सञ्जाल तथा पत्रपत्रिकाको सहारा लिने गर्थे।

माओवादी द्वन्द्वकालका संवेदनशील समयमा समेत—नक्सालस्थित प्रहरी प्रधान कार्यालयदेखि जिल्लास्थित एकाइसम्म—धेरै अधिकारीहरू विद्रोहीहरूका गतिविधि र सम्भावित आक्रमणबारे सूचित नै नहुने अवस्था देखिन्थ्यो। आक्रमणपछि भने प्रहरीका मृतक सहकर्मीहरूलाई बेवास्ता गर्दै ज्यान जोगाउन भाग्ने प्रवृत्ति समेत देखिएको इतिहास छ।

यस्तै वर्गका अधिकारीहरूले आफ्नो कार्यकालमा गुट–उपगुट निर्माण, मन नपर्ने सहकर्मीलाई तेजोवध, र इमानदार अधिकृतहरूको कार्यसम्पादनमा अनावश्यक अवरोध सिर्जना जस्ता गतिविधि सामान्य रूपमा गरेका उदाहरण प्रशस्त छन्।

अवकाशपछि यिनै अधिकृतहरू राजनीतिमा ओर्लिनुका दुई प्रमुख कारण देखिन्छन्—

पहिलो, शक्तिको भोग;

दोस्रो, लामो समयसम्म उच्च तहमा बसेका कारण विकसित भएको पहुँच र शक्तिको पुनः निरन्तरताको चाहना।

जेन–जि आन्दोलनपछि मुलुकमा राजनीतिक दलप्रति जनविश्वास कमजोर हुँदै गएको छ। नेपाली कांग्रेस र नेकपा एमाले पनि आन्तरिक विभाजन र अविश्वासको दिशामा अघि बढिरहेका छन्। युवापुस्ता र सर्वसाधारणमा परम्परागत दलप्रतिको नकारात्मक धारणा बढ्दै जाँदा नयाँ दलहरू सहजै ‘विकल्प’ को रूपमा उदाएका छन्, जसले पूर्व अधिकारीहरूलाई पनि आकर्षित गरिरहेको देखिन्छ।

सेवाका दौरान र अवकाशपछि पनि राजनीतिक दलसँग निरन्तर निकटता बनाइराख्ने धेरै अधिकारीहरूलाई कुन दल कहिले सशक्त बन्ने सम्भावना छ भन्ने अनुमान गर्न सहज हुन्छ। यही कारणले उनीहरू आफू अनुकूल राजनीतिको बाटो रोज्छन्—शक्तिको निरन्तरताका लागि।

यसबाहेक, केही अधिकारीहरूका अभ्यास हेर्दा अरूलाई संकट परेको बेला राजनीतिलाई ‘ढाल’ का रूपमा प्रयोग गर्न प्रवेश गरेको पनि देखिन्छ। राजनैतिक शक्ति र पहुँचको सहायताले सेवाकालका कमजोरी वा विवादात्मक पाटाहरू ओझेल पार्न सकिन्छ भन्ने मानसिकताले दल रोज्ने प्रवृत्ति छर्लङ्ग देखिन्छ।

नेपाल प्रहरीमा विगतदेखि नै जुन दल सत्तामा आउँछ, सोही दलले मन पराएका व्यक्तिहरूलाई प्रोत्साहित गर्ने परम्परा जिइरहेको छ। कुनै–कुनै खालका गृहमन्त्रीहरू त आफू निकटका अधिकारी बढुवा नभए राजीनामा दिन्छु भनेर दबाब दिने अवस्थासमेत देखिएको छ, जुन स्वयं राजनीतिक पतनको संकेत हो।

त्यसैगरी, संगठनमै प्रजातान्त्रिक चरित्रका अधिकारीहरू समेत थिए, तर उनीहरूकै आस्थाको दलका गृहमन्त्रीसँग नै बारम्बार विवाद र मतभेद हुने गरेको पाइन्थ्यो। विडम्बना के छ भने ती गृहमन्त्रीहरू समेत आज आफ्नो राजनीतिक भविष्य सुरक्षित रूपमा अवतरण होस् भन्ने अभिलाषामा छन्।

नेपाल प्रहरीको इतिहास र वर्तमान अभ्यासले यो स्पष्ट बनाउँछ कि अवकाशपछि राजनीतिमा प्रवेश गर्नु केवल अवसर मात्र होइन—शक्ति, पहुँच र व्यक्तिगत सुरक्षाको निरन्तरताको खोज पनि हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय