
— अधिवक्ता गोविन्द पन्थी
नेपाल फेरि एकपटक गम्भीर राजनीतिक मोडमा पुगेको छ। शान्ति र स्थायित्वका अनेकौं वाचा र आन्दोलनहरू बीच पनि आज देश राजनीतिक अन्योल, आर्थिक निर्भरता र वैचारिक दिशाहीनतामा फँसेको छ। लोकतान्त्रिक शासन व्यवस्था स्थापनाको दुई दशकपछि पनि राजनीतिक स्थायित्व, राष्ट्रिय एकता र स्वाधीनता सुदृढ हुन नसक्नुले जनमानसमा ठूलो प्रश्न उब्जाएको छ के हामी फेरि विखण्डन र अराजकताको दिशामा त जाँदै छैनौं?

राष्ट्रवाद केवल नारा होइन, अस्तित्वको आत्मा हो
राष्ट्रवाद भनेको झण्डा, गीत वा नारामात्र होइन; यो हाम्रो अस्तित्व, स्वाभिमान र सार्वभौमिकताको आत्मा हो। नेपालजस्तो भौगोलिक, सांस्कृतिक र धार्मिक विविधताले भरिएको, दुई उदियमान शक्ति बीच अवस्थित सानो तर संवेदनशील भूगोल भएको देशमा राष्ट्रवाद नै सबै नेपालीलाई एक सूत्रमा बाँध्ने गोंद हो।त्यसको लागि मिलन बिन्दु भनेको पहिला देश भन्ने सबैको हृदयमा हुन जरुरी छ।
तर पछिल्ला वर्षहरूमा सत्ताको लोभ, राजनीतिक स्वार्थ र वैचारिक अस्पष्टताले राष्ट्रवादी एजेन्डा कमजोर बनेको छ। परिणामस्वरूप राष्ट्रिय एकता ह्रास हुँदै गएको छ र बाह्य प्रभावको हस्तक्षेप बढ्दो छ। आज “राष्ट्रवादी शक्ति” भन्ने शब्द राजनीतिक नारा मात्रै बनेको छ कोही राजसंस्थाको पक्षमा, कोही धर्मनिरपेक्षताको, कोही गणतन्त्रको सुधारमा; तर साझा लक्ष्य “राष्ट्रको पहिचान र अस्तित्व “हराउदा पहिला देश भन्ने नारा नै सबैको साझा बिन्दु देखिन्छ जसमा सब रास्ट्र भक्त एबम प्रगतिशील तह र तप्का सबै अटाउन सकिने छ।
राजनीतिक अस्थिरता र जनआक्रोश!
यो विखण्डनले देशभित्र निराशा र असन्तोष बढाएको छ। बेरोजगारी, भ्रष्टाचार र असमानताले जनता असुरक्षित महसुस गर्न थालेका छन्। यही असन्तोषको परिणामस्वरूप हालैको शहरी विद्रोह पछि सरकार ढल्नु र अन्तरिम सरकार गठन हुनु केवल राजनीतिक घटनामात्र होइन यो जनआवाजको विस्फोट हो।
जब जनतालाई न्याय, रोजगारी र सुरक्षा मिल्दैन, विद्रोह र हिंसा जन्मिन्छ। यस्तो अस्थिर अवस्थामा यदि राष्ट्रवादी शक्ति अझै पनि विखण्डित रह्यो भने, देश गृहयुद्धतुल्य संकटमा फस्न सक्छ। इतिहासले देखाएको छ जब राष्ट्रियता कमजोर हुन्छ, आन्तरिक र बाह्य दुवै शक्तिहरूले त्यसको लाभ उठाउँछन्।
छिमेकी राष्ट्रहरूले पनि अब नेपाल समृद्द गर्ने नीति लिउन!
नेपाल प्रति हाम्रा छिमेकी राष्ट्रहरूले दृष्टिकोण पुनर्विचार गर्नुपर्ने बेला आएको छ। नेपाल समृद्ध नभएसम्म यहाँको अभाव र असन्तोषलाई प्रयोग गरेर अन्य शक्तिहरूले खेल्ने जोखिम रहि रहन्छ जुन कुरा कुनै पनि छिमेकीको हितमा छैन।
नेपाल पूर्व, पश्चिम र दक्षिण तीनै दिशामा खुला सिमाना भएको, धार्मिक आस्थाको गहिरो मूल भएको देश हो। त्यसैले भारतले नेपालको विकास र स्थायित्वमा सहयोग पुर्याउनु आफ्नो हितकै कुरा हो। उत्तरी छिमेकी चीनले पनि नेपाललाई सामरिक दृष्टिले मात्र होइन, विकास साझेदारको रूपमा हेर्नुपर्छ। भविष्यमा नेपालकै भौगोलिक स्थान विश्वराजनीतिक प्रतिस्पर्धाको केन्द्र बन्न सक्छ। त्यसैले दुबै छिमेकीले सहयोगी दृष्टिकोण अपनाउनु नै क्षेत्रीय स्थायित्वको दीर्घकालीन आधार हुनेछ।
समाधान र मार्गदर्शन:-
अब समय आएको छ ,राष्ट्रवादी शक्तिहरूले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ।साझा राष्ट्रिय मुद्दामा एकीकृत नीति बनाइनुपर्छ सीमाको सुरक्षा, भाषा-संस्कृतिको संरक्षण र आर्थिक स्वावलम्बनको नीति स्पष्ट हुनुपर्छ युवापुस्तालाई राष्ट्रवादको सही अर्थ बुझाउने र मित्रराष्ट्रहरूप्रति अनावश्यक वैमनस्य फैलाउने प्रवृत्ति रोक्ने सचेतना अभियान चलाइनुपर्छ।नेपालको राष्ट्रियता केवल विचार होइन, यो हजारौं वर्षको सभ्यता र बलिदानको सजीव रूप हो। यदि राष्ट्रवादी शक्तिहरूले समयमै एकता प्रदर्शन गर्न सकेनन् र विदेशी शक्तिहरूको चाल बुझ्न असफल भए, देशले राजनीतिक मात्र होइन, अस्तित्वगत संकट पनि भोग्न सक्छ।
तसर्थ अब सबै सचेत नागरिक, राजनीतिक दलका कार्यकर्ता, बुद्धिजीवी र युवा पुस्ताको दायित्व एउटै छ
“विभाजन होइन, एकता” त्यसको लागि “पहिला देश” भन्ने नारा व्यवहारमा उतार्ने।
नेपाललाई पुनः राष्ट्रिय गौरव, स्वाभिमान र स्थायित्वको बाटोमा उभ्याउने जिम्मेवारी यही पुस्ताले लिनुपर्छ।
जय देश, जय जनता।



