रातको अँध्यारो सडकमा उभिँदा, साइरनको टन्न आवाज कानमा गुन्जिन्छ । हावामा पनि डरको सुगन्ध छ । मनमा एउटै प्रश्न उठ्छ – “सुरक्षा दिने प्रहरी आफैं कति सुरक्षित छ ?”

प्रहरीको पोशाक केवल अनुशासनको प्रतीक होइन, यो त्याग, संघर्ष र समर्पणको प्रतीक हो । तर पछिल्ला दिनमा प्रहरीमाथि हुने आक्रमण, अविश्वास र अपमानले प्रहरीको आत्मबल झन कमजोर बनाउँदै आएको छ। हामीले बुझ्न जरुरी छ, प्रहरीको आत्मबल कमजोर भए, राष्ट्रको शान्ति पनि कमजोर हुन्छ ।

प्रहरी पनि मानिस हो, त्यहीँ समाजको सदस्य हो । प्रहरीको नि परिवार छ, सपना छ, भावना छ । जब प्रहरी सुरक्षित र सम्मानित महसुस गर्छ, तब मात्र निडर भएर देशको रक्षा गर्न सक्छ । तर डर र असुरक्षाले घेरिएको प्रहरीको हातमा सुरक्षा दिने हातले विश्वास कसरी जगाउन सक्छ ?

आजको युवा पुस्ता, विशेषगरी Gen Z, सामाजिक अन्याय र भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका छन्। उनीहरूको जोश र चेतना सराहनीय छ। तर कहिलेकाहीँ त्यो जोश आन्दोलनको रूपमा सरकारको फ्रन्टलाइनर को रुपमा खटिने प्रहरीमाथि आक्रमणमा परिणत हुन्छ। वास्तवमा, प्रहरी र युवा दुवै एउटै लक्ष्य खोजिरहेका हुन्छन् – समानता, सामाजिक न्याय र विधीको शासन। तर संवादको अभावले यिनिहरु दुबैबीचको दूरी बढाएको छ ।

मनोबल भनेको प्रहरीको आत्मा हो। जब आत्मा कमजोर हुन्छ, सेवा भाव क्षीण हुन्छ। निराश प्रहरीबाट राष्ट्रले समर्पणको अपेक्षा गर्न सक्दैन् । त्यसैले राज्य, समाज र नेतृत्वले प्रहरीको मनोबल बढाउनुपर्छ । आक्रमणमा कानूनी कारबाही सुनिश्चित गर्नु, संस्थाभित्र मनोवैज्ञानिक सुदृढता कार्यक्रम सञ्चालन गर्नु, र जनतासँग विश्वास पुनःजगाउन Community Policing व्यवहारिक बनाउनु आवश्यक छ ।

“मनोबल भनेको प्रहरीको आत्मा हो। जब आत्मा कमजोर हुन्छ, सेवा भाव क्षीण हुन्छ। निराश प्रहरीबाट राष्ट्रले समर्पणको अपेक्षा गर्न सक्दैन् । त्यसैले राज्य, समाज र नेतृत्वले प्रहरीको मनोबल बढाउनुपर्छ ।”

प्रहरी थाकेका छन् होला, निराशामा छन्, तर तिनीहरू हार मानेका छैनन् । प्रहरी सेवा, अनुशासन र समर्पण राष्ट्रको लागि हो । जब प्रहरी सुरक्षित र सम्मानित हुन्छ, तब मात्र राष्ट्रको शान्ति स्थायित्व पाउँछ।

रात अझै गाढा छ, तर प्रहरीको आत्मा उज्यालो हुनै पर्छ । प्रहरीको हातमा सुरक्षा, हृदयमा समर्पण, आँखामा विश्वास, नागरिक र देशको लागि हुन जरुरी छ । बदलिँदो परिस्थिति, नागरिकको अपेक्षा र जनताको भावनालाई बुझ्दै सबल, सुदृढ, जनमुखी र व्यवसायिक साथै उच्च मनोबल युक्त प्रहरी आजको आवश्यकता हो ।

~ लेखक: राजेश केसी  राजनीतिशास्त्र र कानुनका विद्यार्थी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय