— राजेश सुधाकर
नेपाली कांग्रेसको राजनीतिक इतिहासमा गगन थापा जस्तो युवा नेताको उदय कुनै सामान्य कुरा थिएन। उनीमाथि हजारौं कार्यकर्ताको आशा, परिवर्तनको आकांक्षा र संस्थागत सुधारको सपना जोडिएको थियो। तर अहिले त्यही आशा क्रमशः निराशामा रूपान्तरण हुँदैछ—किनभने थापा आज सुधारकभन्दा बढी स्वार्थी, महत्वाकांक्षी र अवसरवादी पात्रको रूपमा चित्रित हुन थालेका छन्।

हालै उनले उठाएको विशेष महाधिवेशनको प्रस्तावले उनको वास्तविक राजनीतिक चरित्रलाई झल्काएको छ—यो न पार्टी सुधारको दस्तावेज हो, न संगठन सुदृढीकरणको रणनीति; यो त उनको आफ्नै असफलता, भ्रम र व्यक्तिगत महत्वाकांक्षा लुकाउने “बेमौसमी बाजा” मात्र हो।

१. विशेष महाधिवेशनको प्रस्ताव: असफलता छोप्ने हतियार

गगन थापाको विशेष महाधिवेशनको प्रस्ताव, व्यवहारमा, उनको राजनीतिक असक्षमता र प्राविधिक असफलता ढाक्ने हतियार बन्यो।

क्रियाशील सदस्यता विवादमा देखिएको ढिलाइ र व्यवस्थापनगत कमजोरीमा उनको प्रत्यक्ष भूमिका रहँदै आएको छ।

त्यो समस्याको समाधान खोज्नुको साटो, अहिले उनी “महाधिवेशन” को हल्ला फैलाउँदै जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन्।

पार्टीभित्र देखिएको संगठनात्मक अव्यवस्था र आन्तरिक असन्तुलनको मूल कारण उनी स्वयं हुन्। तर जिम्मेवारी स्वीकार गर्न साटो, उनले ध्यान अन्यत्र मोड्ने, भ्रम सिर्जना गर्ने र “सुधार” को नाममा प्रचारबाजी गर्ने शैली अपनाएका छन्।

यो शैली नयाँ होइन—यो नेपाली राजनीतिमा विगतका धेरै अवसरवादी नेताहरूले प्रयोग गरेको परम्परागत तरिका हो: जब असफलता देखिन्छ, त्यसलाईआन्दोलनको खोलामा लुकाइदेऊ।

२. मानवीय संवेदनशीलताको अभाव: सभापतिमाथिको आक्रमण र मौनता

हालै पार्टी सभापतिमाथि भएको सांघातिक आक्रमणले कांग्रेसभित्र आघात र पीडा ल्याएको बेला गगन थापाको मौनता अझ नैतिक रूपमा आपत्तिजनक देखियो। यो आक्रमण कुनै एक व्यक्तिमाथि होइन—सिंगो पार्टी संस्थामाथि भएको थियो।

तर गगन थापाले त्यो घडीमा सहानुभूति, एकता र संयमको सन्देश दिनुको साटो “विशेष महाधिवेशन” को कार्ड खेल्न रुचाए। पार्टी सभापति र सहकर्मी नेतामाथि भएको हिंसात्मक घटनालाई राजनीतिमा सौदाबाजीको उपकरण बनाउनु नैतिक पतनको पराकाष्ठा हो।

संकटको घडीमा सहानुभूति र एकताको सन्देश दिनुपर्ने नेताबाट यस्ता चाल देखिनु, उनले आफूलाई “परिवर्तनको मसिहा” भनेर बनाएको छविलाई पूर्ण रूपमा ध्वस्त पार्छ। सत्य के हो भने, गगन थापा अब संवेदनशील नेताको होइन, संवेदनशून्य निर्दयी अवसरवादी नेताको रूपमा प्रकट भइरहेका छन्।

३. बेमौसमी बाजा र स्वार्थी रणनीति

थापाले हालसालै पार्टीभित्र “विशेष महाधिवेशन” को प्रस्ताव ल्याएका छन्, तर त्यसको समय र सन्दर्भ दुवै गलत छन्। जब देश राजनीतिक अस्थिरता, आन्तरिक विवाद र विश्वासको संकटमा छ, तब संगठनात्मक समाधानको सट्टा उनी व्यक्तिगत महत्वाकांक्षाको बाजा बजाइरहेका छन्।

नियमित महाधिवेशनको समय नजिकिँदै गर्दा बेमौसमी “विशेष महाधिवेशन”को हल्ला गर्नु भनेको संगठनभित्र नयाँ द्वन्द्व र विखण्डन निम्त्याउने चाल हो। यो नीतिगत सुझाव होइन—यो व्यक्तिगत शक्ति परीक्षणको खेल हो।

उनी आफ्ना सहकर्मी नेताहरूलाई कमजोर देखाएर, बाह्य शक्तिहरूसँग नजिकिएर, र मिडियामा “सुधारक” को छवि बेचेर पार्टीभित्र प्रभाव जमाउने दाउमा छन्। तर यसरी पार्टीभित्र अस्थिरता फैलाउनु नै कांग्रेसको संगठनात्मक क्षय र विचारगत अधोपतनको मुख्य कारण बन्ने खतरा देखिन्छ।

४. काँग्रेसको आत्मा र आदर्शमाथिको आघात

काँग्रेस केवल एउटा पार्टी होइन, यो नेपालको लोकतान्त्रिक इतिहासको आत्मा हो।

तर हालका गतिविधिले त्यो आत्मालाई नै हल्लाइरहेको छ। गगन थापा जस्ता महत्वाकांक्षी नेताहरूले पार्टीलाई आफ्नो व्यक्तिगत महत्वाकांक्षाको सिँढी बनाउँदा संस्थागत मूल्य र नैतिकता दुवै जोखिममा परेका छन्।

आज कांग्रेसभित्रको राजनीति प्रतिस्पर्धा होइन, ‘स्वार्थको युद्ध’ जस्तो देखिन थालेको छ। थापाको यो प्रवृत्तिले केवल उनको नैतिक पतन होइन, पार्टीकै संगठनात्मक अधोगति निम्त्याउन सक्छ।

उनको महत्वाकांक्षा अहिलेको अवस्थामा आगोझैँ फैलँदैछ—र त्यो आगलागीमा जल्ने पहिलो वस्तु हुनेछ, कांग्रेसकै नैतिकता र अनुशासन।

५. निष्कर्ष: सुधार होइन, आत्मविनाशको बाटो

गगन थापाको हालको गतिविधिले स्पष्ट सन्देश दिन्छ—उनी पार्टी सुधारका अगुवा होइनन्; बरु अस्थिरता र भ्रमका संवाहक हुन्।

आफ्नो असफलता ढाक्न “महाधिवेशन” को नारा फ्याँक्ने, मानवीय संवेदनशीलता बेवास्ता गर्ने, र राजनीतिक अवसरको फाइदा लिने उनको चालले उनलाई “परिवर्तनको नेता” होइन, “राजनीतिक सौदाबाज” को रूपमा चिनाएको छ।

उनले यो कुरा बुझ्न जरुरी छ—काँग्रेसका संस्थापकहरूले साँचो नेतृत्वको अर्थ सत्ता होइन, संयम नैतिकता सिकाएका थिए।

त्यो नैतिकता गुम्ने हो भने, पार्टीको अस्तित्व पनि केवल नाममा सीमित रहन्छ। गगन थापाको बढ्दो महत्वाकांक्षाको ज्वालामा अहिले नेपाली कांग्रेसको अनुशासन, नैतिकता र आन्तरिक एकता जल्दै गएको छ। यो ज्वालालाई समयमै नियन्त्रण गर्न सकिएन भने, पार्टी सुधार होइन—आत्मविनाशको यात्रा सुरु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय