पोखरा — भदौ २४ गते साँझ पोखरामा भएको ‘जेनजी’ आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्ने क्रममा जलेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

चितवनको भरतपुर–१० स्थायी घर भई हाल पोखरा–१६ मा मजदुरी गर्दै आएका ४३ वर्षीय विजय तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए।

डीएसपी बस्नेतका अनुसार आगो लगाउने क्रममा आफैँ जलेर घाइते भएका तामाङलाई उनका साथीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। तर उपचारका क्रममा उनको ज्यान गयो।

यसअघि आन्दोलनकै क्रममा दुई महिलाको ज्यान गइसकेको छ। पोखरा नयाँबजारस्थित हिमालय अर्गनाइजेसनको अटोसोरुम र लेकसाइडको अंशुभरा स्क्वायरमा आगजनी हुँदा दुई महिला कामदार जलेर मृत अवस्थामा फेला परेका थिए।

यससँगै पोखरामा जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

प्रहरीले अहिलेसम्म सुरक्षाकर्मीको बल प्रयोगबाट कसैको पनि ज्यान नगएको स्पष्ट गरेको छ। तर प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बगरसहित विभिन्न प्रहरी पोष्टहरूमा आगजनी गरेका थिए।

डीएसपी बस्नेतले क्षति पुगेका प्रहरी चौकी तथा पोष्टहरूको सरसफाइ गरी सेवा सञ्चालन गर्न थालिएको जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय