
परिचय :—
सूचना प्रविधिको तीव्र विकाससँगै हाम्रो जीवन डिजिटल रूपमा सहज र प्रभावकारी बन्दै गएको छ। बैंकिङ प्रणाली, व्यापार, संचार, शिक्षा, मनोरञ्जन लगायतका क्षेत्रमा प्रविधिको प्रभावकारी उपयोगले हाम्रो दैनिकीलाई सरल बनाएको छ। तर, प्रविधिको दुरुपयोग बढ्दै जाँदा विभिन्न अपराधहरू पनि सिर्जना भएका छन्, जसलाई साइबर अपराध (Cyber Crime) भनिन्छ।

साइबर अपराध कुनै व्यक्तिको व्यक्तिगत जानकारी चोरी गर्ने, बैंक खाताबाट रकम निकाल्ने, सामाजिक सञ्जाल दुरुपयोग गर्ने, वेबसाइट ह्याक गर्ने, गलत सूचना फैलाउने जस्ता अनलाइन वा डिजिटल माध्यमबाट गरिने गैरकानूनी कार्य हो। नेपालमा इन्टरनेटको पहुँच बढ्दै गएपछि यस्ता अपराधहरू तीव्र रूपमा वृद्धि हुँदै गएका छन्।
साइबर अपराध के हो?
साइबर अपराध भनेको कम्प्युटर, इन्टरनेट, मोबाइल वा अन्य डिजिटल उपकरणहरूको प्रयोग गरी गरिने कुनै पनि गैरकानूनी तथा अनैतिक कार्य हो। यसको मुख्य उद्देश्य व्यक्तिगत जानकारी चोरी गर्ने, वित्तीय ठगी गर्ने, संस्थाहरूको प्रणाली ह्याक गर्ने, अफवाह फैलाउने, ब्ल्याकमेलिङ गर्ने, अश्लील सामग्री प्रसार गर्ने वा अन्य आपराधिक गतिविधि सञ्चालन गर्नु हो।
साइबर अपराधका केही उदाहरणहरू:-
—बैंकिङ प्रणाली ह्याक गरेर रकम चोरी गर्नु।
—नक्कली फेसबुक, इन्स्टाग्राम वा ट्विटर अकाउन्ट खोली गलत सूचना फैलाउनु।
— अनलाइन धम्की, चरित्र हत्या, ब्ल्याकमेलिङ गर्नु।
— नक्कली अनलाइन सपिङ साइट बनाएर ठगी गर्नु।
नेपालमा साइबर अपराधको दायरा दिनप्रतिदिन फराकिलो बन्दै गएको छ। प्रविधिको विकाससँगै डिजिटल ठगी, बैंकिङ ह्याकिङ, सामाजिक सञ्जाल दुरुपयोग, फिशिङ जस्ता अपराधहरू व्यापक रूपमा देखिएका छन्। यस्ता अपराधहरू रोक्नका लागि नागरिकहरू डिजिटल रूपमा सचेत हुन आवश्यक छ। साइबर अपराध नियन्त्रण गर्न सरकारले कडा कानुनी व्यवस्था लागू गर्नुपर्छ भने आम नागरिकले पनि सचेत भई आफ्नो अनलाइन सुरक्षामा ध्यान दिनुपर्छ। यदि सबै पक्षले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गरेमा नेपालमा साइबर अपराध नियन्त्रण गर्न सकिन्छ।



