कपिलवस्तु — लुम्बिनी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २४औँ वार्षिकोत्सव मंगलबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रूपमा सम्पन्न गरेको छ। चन्द्रौटास्थित विन्ध्यवासिनी ५ नम्बर बाहिनी परिसरमा आयोजित कार्यक्रममा वृक्षारोपण, सामाजिक सम्मान तथा सांस्कृतिक प्रस्तुतिमार्फत वार्षिकोत्सव मनाइएको हो।

कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसीले महिला संघले महिला सशक्तीकरण, सामाजिक सेवा तथा विपद् व्यवस्थापनमा खेलेको सक्रिय भूमिकाको प्रशंसा गरिन्। उनले बर्दियामा बाघको आक्रमणबाट घाइते भएका ७ वर्षीय सिर्जन थारुलाई माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने संघको प्रतिबद्धतालाई उदाहरणीय कदमको रूपमा उल्लेख गरिन्।

संघकी अध्यक्ष तारा देउवाले स्वागत मन्तव्यसहित धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि विपन्न, जेहेन्दार तथा शिक्षाबाट वञ्चित वर्गलाई निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याइन्।

सिर्जन थारुलाई निःशुल्क शिक्षा

२०७८ चैत २० गते बर्दियाको गुलरिया नगरपालिका–३ बालापुरमा चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका सिर्जन थारुको उपचार तथा शिक्षाको जिम्मा संघले लिएको छ। कार्यक्रमका क्रममा अध्यक्ष देउवाले सिर्जनका पिता उमेश थारुलाई प्रतिबद्धतापत्रसहित नगद ५ हजार रुपैयाँ प्रदान गर्दै सम्मान गरिन्। आर्थिक अवस्था कमजोर रहेको उल्लेख गरेका उमेश थारुले संघप्रति आभार व्यक्त गरे।

उत्कृष्ट महिला सशस्त्र प्रहरी सम्मानित

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने महिला सशस्त्र प्रहरीलाई सम्मान गरिएको छ। सम्मान प्राप्त गर्नेमा हवल्दार खुमा केसी, जसुता भण्डारी, सहायक हवल्दार धनमाया रास्कोटी, जवान सुस्मा चौधरी, पुष्पा विक र कुन्ति हेलाडोम छन्। उनीहरूलाई शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले प्रशंसापत्रसहित सम्मान गरिन्।

त्यसैगरी, माइती नेपाल रुपन्देहीकी माया क्षेत्री, शान्ति पुनःस्थापना बर्दियाकी सपना शर्मा र यातायात व्यवसायी अमृता भुजेललाई उपसभामुख मेनुका खाँडले सम्मान गरिन्।

कार्यक्रममा सशस्त्र प्रहरी जवानहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा २८ नम्बर गण हेडक्वार्टर कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसी, ४१ नम्बर रिजर्भ गणका गणपति गुणराज न्यौपाने, २६ नम्बर गणका उपरीक्षक सन्तोष रायमाझी, मनोज धिताल, चेतराज जोशीलगायत उच्च प्रहरी अधिकृत, जनप्रतिनिधि, समाजसेवी, पत्रकार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायव उपरीक्षक दीपक कोइरालाले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय