
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्ने सर्तमा सेवा अवधि थप गर्ने निर्णय लिएको हो।

पदावधि थपेसँगै डीआईजी धौवजीको कार्यकाल २०८२ साल असोज २४ गतेसम्म रहनेछ भने डीआईजी न्यौपानेको कार्यकाल २०८२ साल माघ २९ गतेसम्म कायम रहनेछ।
सशस्त्र प्रहरीका डीआईजीहरूको चार वर्षे पदावधि यही असार २९ गते सकिन लागेको अवस्थामा, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले थप एक वर्षको सेवा विस्तारको प्रस्ताव अघि सारेका थिए। उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो।
उल्लेखनीय छ कि डीआईजी स्तरमा कार्यरत अधिकृतहरूलाई कार्यदक्षता, अनुभव र संगठनात्मक निरन्तरताको आधारमा सेवा अवधि थप गर्ने प्रावधान सरकारले केही वर्षयता अपनाउँदै आएको छ।



