
काठमाण्डौं—संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत साउथ सुडानमा खटिएको नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) का कमाण्डर, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रविनराज कर्णजितमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ।
यूएन मिसनमा कार्यरत एक नर्वेजियन महिला कर्मचारीले कर्णजितमाथि संवेदनशील अंगमा स्पर्श गरेको आरोप लगाएकी हुन्। यो आरोपपछि संयुक्त राष्ट्रसंघले सशस्त्र प्रहरी मुख्यालयलाई औपचारिक पत्रचार गरेको छ।

प्राप्त जानकारी अनुसार एसएसपी कर्णजितले मिसन अवधिमा एक रेस्टुरेन्टमा ती महिला कर्मचारीप्रति अशोभनीय व्यवहार गरेको आरोप लागेको हो। सोही उजुरीका आधारमा राष्ट्रसंघले औपचारिक रूपमा छानबिनको अनुरोध गर्दै पत्र पठाएको हो। घटनापछि कर्णजित नेतृत्वको एफपीयू ११ औं डफ्फा वैशाख २३ गते नेपाल फर्किएको थियो।
सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कालीदास धौबजीका अनुसार, एसएसपी कर्णजितमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको पुष्टि भएको छ र सशस्त्र प्रहरीको कानुन शाखाले उक्त विषयमा आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ। “संयुक्त राष्ट्रसंघको पत्रपछि मिसनबाट फर्किएका १५ जनाभन्दा बढी सदस्यहरूसँग सोधपुछ भइरहेको छ,” धौबजीले बताए।
यो विषयलाई सशस्त्र प्रहरीले गम्भीर रूपमा लिएको जनाइएको छ। अनुसन्धानको निष्कर्षपछि मात्रै आवश्यक निर्णय लिइने प्रहरी स्रोतले जानकारी दिएको छ।



