
नवलपरासी–पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा राति अचानक आएको बाढीमा फसेको यात्रुबाहक बसका यात्रुहरूको सशस्त्र प्रहरीले १० मिनेटभित्रै सफलतापूर्वक उद्धार गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार बाढीका कारण बस खोलाको बिचमै अड्किएको थियो। तत्कालै सूचना प्राप्त गरेपछि सशस्त्र प्रहरी बल, गुल्म नं. २३, विनयी त्रिवेणीको टोली परिचालित भई उद्धार कार्य सुरु गरिएको थियो। जोखिम मोलेर खोलामै पसेर प्रत्येक यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीद्वारा खिचिएको तस्बिरमा सुरक्षाकर्मीहरूले यात्रुहरूलाई बाढीबाट जोगाउँदै सुरक्षित स्थानमा पुर्याएको देखिन्छ। तीव्र प्रतिक्रिया र तत्परताले ठूलो दुर्घटना हुनबाट जोगिएको स्थानीयहरूले बताएका छन्।
सशस्त्र प्रहरीको यस्तो सक्रियता र संवेदनशील उद्धार कार्यले पुनः एकपटक सुरक्षा निकायप्रतिको जनआस्था मजबुत बनाएको छ।



