
काठमाडौं — गृहमन्त्री रमेश लेखकले सप्तरीको सप्तकोसी नदीमा विपद् उद्धारका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवानहरूप्रति दुःख व्यक्त गर्दै शोकलाई शक्ति बनाएर थप सतर्कताका साथ काम गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन्।
शुक्रवार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोकमा आयोजित बैठकमा सहभागी हुँदै मन्त्री लेखकले खतराजन्य उद्धारमा खटिने सुरक्षाकर्मीहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले उद्धारकर्ताहरूको जीवन बीमासम्बन्धी कार्यलाई मन्त्रालयले थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता पनि जनाए।

उनले भने, “विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरूका लागि उच्च सतर्कता, पूर्वतयारी र सुरक्षाका उपायहरू अबको अनिवार्य कार्यदिशा हुनुपर्छ।”
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोसी नदीमा उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी बल झापा ३ नम्बर गुल्मका जवान हरेदेव राजवंशीको शव आज विहान नदी किनारमा फेला परेको हो। भने डोटीका अर्का जवान सुरज साउद अझै बेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ।
सरकारले भविष्यमा यस्ता घटनाबाट ज्यान गुमाउने सुरक्षाकर्मीहरूप्रति सम्मान प्रकट गर्दै, उनीहरूका परिवारको हकहितका लागि समेत दीर्घकालीन नीति बनाउने तयारी गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ।



