
काठमाडौं — सशस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षक (एआइजी)को एक पद वैशाख २ गतेदेखि रिक्त छ। तर, पद रिक्त भएको एक महिनासम्म पनि बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन।
सशस्त्र प्रहरी बलका एआइजी चन्द्रप्रकाश गौतम ३० वर्षे सेवा अवधिपछि अवकाशमा गएसँगै उक्त पद खाली भएको हो। गौतमको अवकाशपछि बढुवा समितिले सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार बढुवाका लागि योग्य उम्मेदवारबाट आवेदन माग गर्दै वैशाख १४ गते सूचना प्रकाशन गरेको थियो। आवेदन दिने समय वैशाख २१ गतेसम्म तोकिएको थियो।

सूचना अनुसार १० जना डिआइजीहरूले एआइजी पदका लागि आवेदन दिएका छन्। तीमध्ये डिआइजी कमल गिरी, गणेश ठाडामगर, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, कुमार न्यौपाने, कालीदास धौबजी, लक्ष्मण सिंह, प्रदीपकुमार पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेल रहेका छन्।
डिआइजी गिरी, ठाडामगर, सुवेदी र नेम्वाङ सन् २०५६ सालमा नेपाल प्रहरीबाट सेवा प्रारम्भ गरी पछि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका हुन्। उनीहरू २०७७ पुस ३ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए। वरिष्ठताका आधारमा गिरी पहिलो, ठाडामगर दोस्रो र नेम्वाङ तेस्रो स्थानमा छन्।
यद्यपि बढुवा समिति गठन भए पनि हालसम्म बैठक बस्न सकेको छैन। सशस्त्र प्रहरी नियमावली अनुसार बढुवा समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष र सशस्त्र प्रहरी बलका महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ। तर, गृह मन्त्रालयका एक स्रोतका अनुसार उक्त विषयमा मन्त्रालयले प्रवेश नै गरिसकेको छैन।
स्रोतका अनुसार, “बढुवा गर्ने विषयमा नेतृत्व तहमा कुराकानी नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन। प्रक्रिया ढिला हुँदा चलखेलको सम्भावना बढेको छ।”
नियमावलीअनुसार बढुवामा कार्यसम्पादन मूल्यांकनबाट ४० अंक, ज्येष्ठताबाट २० अंक, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवबाट ८ अंक, शैक्षिक योग्यताबाट ७ अंक, तालिमबाट १३ अंक, विशेष जिम्मेवारीबाट ५ अंक, विभूषणबाट २ अंक र बढुवा समितिको विवेकाधीन ५ अंक रहने व्यवस्था छ। तर, हालसम्म समितिको बैठक नबसेपछि बढुवा प्रक्रिया अन्योलमा परेको हो।
हाल सशस्त्र प्रहरी बलमा नारायणदत्त पौडेल र वंशी दाहाल एआइजी पदमा कार्यरत छन्। हालका आइजिपी राजु अर्याल २०८३ वैशाखमा अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि पौडेल र दाहालमध्ये एक जनाले आइजिपी बन्ने सम्भावना छ। त्यसपछिको नेतृत्व भने अहिले बढुवा हुने एआइजीहरूबाट तय हुने देखिन्छ।



