
काठमाडौं — सशस्त्र प्रहरी बल नेपालको पोशाकमा सामाजिक सञ्जालमा भिडियो तथा तस्बिर राख्ने १६६ जना सशस्त्र प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका छन्। संगठनको नीति निर्देशन विपरीत सामाजिक सञ्जालमा सक्रियता देखाएका उनीहरूलाई विभिन्न तहको कारबाही गरिएको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार करिब दुई वर्षको अवधिमा पोशाक लगाएर फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जर, एक्स (ट्विटर), इमो, वीच्याटलगायत प्लेटफर्ममा भिडियो तथा तस्बिर पोस्ट गर्ने कार्यमा संलग्न रहेका १६६ जना कर्मचारी कारबाहीमा परेका हुन्।

कारबाहीमा परेका कर्मचारीहरूमध्ये सशस्त्र प्रहरी नायब निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, वरिष्ठ हवल्दार ९ जना, हवल्दार ५ जना, सहायक हवल्दार १० जना, जवान १२१ जना र परिचर ३ जना छन्। उनीहरूलाई नसिहत, चेतावनी, बढुवा रोक्का, सचेतना र मौखिक सम्झाईबुझाईजस्ता विभागीय कारबाही गरिएको थापाले जानकारी दिए। तीमध्ये सबैभन्दा धेरै ११८ जनालाई नसिहत दिइएको छ।
त्यस्तै, संगठनको बारेमा सामाजिक सञ्जालमार्फत् नकारात्मक टिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
सामाजिक सञ्जालमा प्रहरी संगठनको गरिमा विरोधी गतिविधि बढ्दै गएपछि सशस्त्र प्रहरी बलले केन्द्रिय प्रधान कार्यालयमा ‘सामाजिक सञ्जाल अनुगमन शाखा’ गठन गरी नियमित निगरानी थालेको छ।
थापाका अनुसार हाल थप ४ जना कर्मचारी विभागीय कारबाही प्रक्रियामा छन्। तीमध्ये एक जना सहायक हवल्दार र तीन जना जवान छन्, जसका लागि गत चैत २८ गते आदेशात्मक पत्राचार गर्दै मातहत कार्यालयहरूलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो।
सशस्त्र प्रहरी बलले संगठनको अनुशासन, गरिमा र सार्वजनिक छविमा प्रतिकूल असर पर्ने कार्यहरूप्रति कडाइका साथ निगरानी बढाउने स्पष्ट संकेत दिएको छ।



