
काठमाण्डौं—शक्तिको आडमा बढुवा र सरुवामा हालीमुहाली गर्दै आएका सशस्त्र प्रहरी बलका डिआइजी दीपेन्द्र कुँवरले पछिल्लो सरुवामा पनि आफ्नो पकड जमाउन सफल भएका छन्। ‘राष्ट्रिय ज्वाइँ’ को उपाधि पाएका कुँवरलाई सत्तारुढ नेपाली कांग्रेसको कोटा अनुसार महत्वपूर्ण लुम्बिनी प्रदेशको विन्दबासिनी बाहिनीमा पठाइएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको बहिनीका ज्वाइँ रहेका कुँवर सधैं सत्ताको छायाँमा रहँदै बढुवा र सरुवा प्रक्रियामा प्रभाव जमाउँदै आएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १२ जना डिआइजीहरूको सरुवा गर्दा हालसालै बढुवा भएका अधिकारीहरूलाई नै प्रमुख स्थानमा खटाएको छ। स्रोतका अनुसार सरुवा प्रक्रियामा प्रहरी महानिरीक्षक राजु अर्याललाई समेत दबाबमा पारिएको थियो।

यस पटक लुम्बिनी प्रदेशमा डिआइजी कुँवर, कोसी प्रदेशको बराह बाहिनीमा प्रवक्ता कुमार न्यौपाने, मधेस प्रदेशको छिन्नमस्ता बाहिनीमा कृष्ण ढकाल, बागमतीको गढिमाई बाहिनीमा अन्जनी पोखरेल, गण्डकीको मुक्तिनाथ बाहिनीमा दीपेन्द्र साह, र सुदूरपश्चिमको वैद्यनाथ बाहिनीमा प्रदीप पाल सरुवा भएका छन्।
बराह बाहिनीका शम्भु सुवेदीलाई स्टाफ कलेज, कालिदास धौवजीलाई आइजीपी सचिवालय, गणेश ठाडा मगरलाई कार्य विभाग, कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभाग, प्रदीप पाललाई वैद्यनाथ बाहिनी, दीपक अधिकारीलाई मानवस्रोत, र पुरुषोत्तम थापालाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सरुवा गरिएको छ।
एसएसपी स्तरमा पनि ११ जनाको सरुवा भएको छ। विकास घिमिरे प्रबन्ध महाशाखामा, मनिष थापा कार्य विभागमा, कमल तिउसिना खेलकुद तथा शारीरिक सुगठन शिक्षालयमा, र अन्यलाई विभिन्न तालिम केन्द्र र विभागहरूमा खटाइएको छ।
यसरी सशस्त्र प्रहरी बलको सरुवा प्रक्रियामा शक्ति, पहुँच, र राजनीतिक हस्तक्षेपले न्यायसंगतता र पारदर्शिता कमजोर बनाएको देखिएको छ।



