काठमाडौं ।प्रधान कार्यालयले पछिल्ला दिनमा सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा संगठनका आन्तरिक कार्यक्रमहरू अशोभनीय ढंगले प्रचार–प्रसार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यसबाट संगठनको मान–प्रतिष्ठामा आँच आउने जोखिम देखिएको भन्दै मातहत निकायहरूलाई कडा सचेत गराइएको हो।

प्रधान कार्यालयबाट जारी परिपत्रमा युनिटस्तरमा सञ्चालन हुने नितान्त आन्तरिक क्रियाकलापहरूमा समेत अनावश्यक रूपमा बाह्य व्यक्तिहरू आमन्त्रण गर्ने तथा फोटो–भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट र सेयर गर्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गरिएको छ।

साथै, संगठनको अनुशासन र आचरणविपरीत कार्य गर्दै अनावश्यक सूचनाहरू सञ्चार माध्यममा उपलब्ध गराउने, व्यक्तिगत तथा संस्थागत छविमा नकारात्मक असर पुग्ने किसिमका गैर–व्यावसायिक गतिविधि गर्ने, फौजी कमान्डको मूल्य–मान्यता र पदीय दायित्वको बेवास्ता गर्दै सामग्री सामाजिक सञ्जालमा अपलोड गर्ने जस्ता कार्य कमान्डर तहका कर्मचारीबाट समेत भइरहेको पाइएको प्रधान कार्यालयले जनाएको छ।

मुख्यालयले यस्ता गतिविधि तत्काल बन्द गर्न निर्देशन दिँदै युनिट कमान्डरहरूलाई आफू जिम्मेवार भई मातहतका कर्मचारीलाई नियमित ब्रिफिङ गर्न आग्रह गरेको छ। युनिफर्म, हातहतियार वा सिभिल पोसाकमै भए पनि कार्यालयसँग सम्बन्धित गतिविधि देखिने कुनै पनि फोटो तथा भिडियो सामाजिक सञ्जालमा अपलोड गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

यस्ता गतिविधिले संगठनको प्रतिष्ठामा क्षति पुर्‍याउने, संलग्न कर्मचारी कारबाहीमा पर्ने तथा वृत्तिविकासमा समेत प्रतिकूल असर पार्ने चेतावनी दिँदै संगठनले यस विषयमा अझ कठोर रूपमा प्रस्तुत हुने जनाएको छ। बाहिनी मुख्यालयहरूलाई मातहत इकाइहरूको निरन्तर अनुगमन गरी त्रुटिरहित कार्यसम्पादन सुनिश्चित गर्न निर्देशन दिइएको छ।

यसअघि सञ्चार माध्यमसँगको समन्वय तथा सम्बन्धबारे जारी परिपत्र र मौखिक निर्देशनहरूको अनिवार्य पालना गर्न पनि भनिएको छ। संगठनसँग सम्बन्धित कुनै पनि सूचना सार्वजनिक गर्नुपरेमा प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टसँग समन्वय गरेर मात्र जानकारी उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

प्रधान कार्यालयअन्तर्गत सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय (सूचना शाखा) ले सामाजिक सञ्जाल प्रयोग तथा सार्वजनिक सूचना प्रवाहसम्बन्धी निर्देशिकाहरू सबै कार्यालयलाई यसअघि नै अवगत गराइसकिएको पत्रमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय