
काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजीनामा, रवाना र बिदा बन्द गरेको छ। निर्वाचनमा अधिकतम जनशक्ति परिचालन गर्नुपर्ने भएकाले सशस्त्रका सम्पूर्ण कार्यालयमा यो व्यवस्था लागू गरिएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–०८२ अनुसार माघ १९ गतेदेखि उक्त निर्णय लागू गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार निर्वाचन अवधिभर सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्ने, अन्य कार्यालयमा सरुवा भएर जाने प्रयोजनका लागि रवाना नदिने तथा अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्न सम्पूर्ण कार्यालयलाई परिपत्र गरिएको छ।
निर्वाचन सुरक्षालाई प्रभावकारी, व्यवस्थित र विश्वसनीय बनाउन यो निर्णय गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।



