
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सुरक्षा परिचालन नीति तर्जुमा गरेको छ।
शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालयमा आयोजित कार्यक्रममा बलले निर्वाचन सुरक्षालाई प्रभावकारी, समन्वयात्मक र विश्वासयोग्य बनाउने लक्ष्यका साथ उक्त परिचालन नीति तयार गरिएको जानकारी दिएको हो।

उक्त नीतिमा निर्वाचनका सबै चरणमा सुरक्षा व्यवस्थापन, सीमा क्षेत्रको निगरानी, संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रको पहिचान, सुरक्षा निकायबीच समन्वय, तथा आकस्मिक अवस्थाको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताइएको छ।
सशस्त्र प्रहरी बलका अनुसार यो नीति कार्यान्वयनमा आएपछि निर्वाचन प्रक्रियामा मतदाता, उम्मेदवार, कर्मचारी तथा सरोकारवाला सबैले सुरक्षित र निर्भय वातावरणको अनुभूति गर्ने अपेक्षा गरिएको छ।
सशस्त्र प्रहरी बलले निर्वाचन आयोग, नेपाल प्रहरी र स्थानीय प्रशासनसँग नजिकको सहकार्य गर्दै संविधान र कानुनको पूर्ण पालना गराउँदै निर्वाचन सुरक्षामा प्रतिबद्ध रहने स्पष्ट पारेको छ।




