
काठमाडौं । सशस्त्र प्रहरी बलले पोसाक लगाएर विभिन्न सामाजिक सञ्जाल—विशेषगरी टिकटक र इन्स्टाग्राम रिल्समा—भिडियो बनाएको आरोपमा २१२ जना सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरेको छ। आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा नायब महानिरीक्षक (डीआइजी) मनिष थापाले पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाउने गतिविधिले संगठनको गरिमा र व्यावसायिकता प्रभावित हुने भएकाले कारबाही गर्नु परेको बताए।

कारबाहीमा परेका कर्मचारीलाई गल्तीको प्रकृति र संलग्नताअनुसार विभिन्न प्रकारका सजाय तोकिएको छ। प्रवक्ता थापाका अनुसार उनीहरूलाई बढुवा रोक्का गर्ने चेतावनी, सचेत गराउने, ध्यानाकर्षण गराउने तथा मौखिक रूपमा सम्झाइबुझाइ गर्ने जस्ता कारबाहीहरू लागू गरिएको छ।




