
काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १६ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। सरुवा सूचीअनुसार ६ जना एसएसपीलाई प्रमुखका रूपमा विभिन्न तालिम शिक्षालयको कमान्ड दिइएको छ।
ती शिक्षालयहरूमध्ये सबैभन्दा महत्वपूर्ण र प्रतिष्ठित मानिने सीमा सुरक्षा तालिम शिक्षालय, बर्दघाट (नवलपरासी) को कमान्ड तीर्थराज पौडेललाई दिइएको छ। उनी राष्ट्रपति रामचन्द्र पौडेलका भतिजा हुन्। यो सरुवालाई विभिन्न कोणबाट चासोका साथ हेरिएको छ।

अन्य सरुवा भएका एसएसपीहरू:
- नीरकृष्ण अधिकारी – राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय, टीकापुर (कैलाली)
- रमेशकुमार पाण्डे – पाथीभरा जवान तालिम शिक्षालय, झापा
- नरेन्द्र बम – सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौबस्ता (बाँके)
- सूर्यबहादुर सेन ओली – बडिमालिका जवान तालिम शिक्षालय, कैलाली
- तेजप्रसाद पोखरेल – दन्तकाली विशेष कार्यतालिम शिक्षालय, सप्तरी
यसैबीच, असार दोस्रो साता सम्पन्न वरिष्ठ अधिकृत सम्मेलन–२०८२ मा सशस्त्र प्रहरी संगठनभित्र आर्थिक चलखेल, राजनीतिक हस्तक्षेप र इमानदार अधिकृतको उपेक्षा भएको आरोप लगाएका एसएसपी प्रवीण कँडेललाई मानवस्रोत विभागबाट कार्यविभागमा सरुवा गरिएको छ।
उक्त सम्मेलनमा एसएसपी कँडेलले “इमानदार अधिकृतको सशस्त्र प्रहरी संगठनमा भविष्य छैन, जाली कुरा गर्नेहरूको मात्र बोलबाला छ” भनेर सार्वजनिकरूपमा मन्तव्य दिएका थिए। सम्मेलनको मूल विषय सीमा सुरक्षा र विपद् व्यवस्थापन भए पनि उनले संस्थागत पारदर्शिता र नेतृत्वप्रतिको असन्तुष्टि विषयवस्तुको रूपमा उठाएका थिए।
उनको सो अभिव्यक्तिपछि संगठनभित्रैबाट कडा प्रतिक्रिया आएको थियो। एसएसपीदेखि आईजीपीसम्मको उपस्थिति रहेको सम्मेलनमा अनुशासन उल्लंघनको आरोपसहित १२ घण्टे स्पष्टीकरण थमाइएको थियो। उनलाई कारबाही गर्न दबाब बढेको भए पनि अन्ततः पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संरक्षणमा कारबाही टर्यो।
कारबाही नहुने सुनिश्चित भएपछि एसएसपी कँडेलले डीआईजी बढुवाका लागि आवेदन दिएका थिए। तर दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट जस्ता आफूभन्दा कनिष्ठ अधिकृतहरूलाई बढुवा गरिएकोमा असन्तुष्टि जनाउँदै उनले सम्मेलनमै प्रहरी नेतृत्वप्रति आक्रोश पोखेका थिए।
कँडेल प्रारम्भमा नेपाल प्रहरीमा प्राविधिक सईका रूपमा भर्ना भई, पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन्। संगठनप्रतिको असन्तुष्टि र नेतृत्वमाथिको आलोचना सार्वजनिकरूपमा उठाएको घटनालाई सशस्त्र प्रहरी इतिहासमै दुर्लभ र बहसयोग्य विषय मानिएको छ।



