
काठमाडौं —नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाद्वारा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको कार्य विभागमा निरीक्षण, अनुगमन तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ। प्रहरी संगठनभित्र शुद्ध प्रशासन, जवाफदेही कार्यशैली, जनमैत्री सेवा तथा प्रभावकारी कार्य सम्पादन सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै आईजीपी थापा स्वयं विभागीय अनुगमनमा उत्रिनुभएको हो।
कार्यक्रमका प्रारम्भमा कार्य विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धि विक्रम शाहले आईजीपी थापालाई स्वागत गर्दै विभागको समग्र कार्य संरचना, जिम्मेवारी र हाल सञ्चालनमा रहेका विविध कार्यक्रमहरूको विवरण प्रस्तुत गर्नुभएको थियो।

निरीक्षणको क्रममा आईजीपी थापाले विभाग अन्तर्गतका विभिन्न शाखा, एकाइ तथा कार्य प्रणालीहरूको स्थलगत अध्ययन गर्नुका साथै त्यहाँ कार्यरत प्रहरी अधिकृत र जवानहरूसँग संवाद गर्दै उनीहरूको कार्यदशा र आवश्यकताबारे जानकारी लिनुभयो। उहाँले सेवामूलक क्षेत्रमा खटिने प्रहरी कर्मचारीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, “प्रत्येक कर्मचारीको आचरण, इमानदारी, समयपालन र जिम्मेवारीप्रतिको संवेदनशीलता नै प्रहरीको गरिमा र जनविश्वासको आधार हो,” भन्नुभयो।

आईजीपी थापाले कार्य विभागमा कार्यरत सबै प्रहरी जनशक्तिलाई अनुशासित, दक्ष र प्रतिबद्ध रहन आग्रह गर्दै, संगठनले तोकेको नीति, नियम र आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिनुभयो। उहाँले विशेष गरी स्रोत साधनको पारदर्शी प्रयोग, कार्यको समयमै निस्कर्षमा पुर्याउने क्षमताको विकास, र कार्यालय व्यवस्थापनमा नवप्रवर्तनकारी सोचको आवश्यकतालाई समेत जोड दिनुभयो।
“कार्य विभाग भनेको प्रहरी संगठनको मेरुदण्डसरह हो,” आईजीपी थापाले भने, “यहाँको कार्यदक्षता, तत्परता र संगठनप्रतिको समर्पण नै संस्थागत सुधारको आधारशिला बन्नेछ।”
कार्यक्रमको अन्त्यमा प्रहरी महानिरीक्षक थापाले उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा र कर्मचारीको उत्साहवर्धन गर्न सकारात्मक मूल्यांकनको नीति अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।



