
बागलुङ । बडिगाड गाउँपालिका–२ स्थित प्रहरी चौकी खर्बाङका लागि आवश्यक पर्ने जग्गा स्थानीयस्तरको समन्वय र पहलमा प्रहरीलाई प्रदान गरिएको छ। इलाका प्रहरी कार्यालय गल्कोटका प्रमुख प्रहरी निरीक्षक (प्र.नि.) देवराज काफ्लेको सक्रियतामा सो जग्गा प्राप्ति सम्भव भएको हो।
स्थानीय बासिन्दाहरूको सहयोगमा ईन्द्रमणी खरालको नाममा रहेको किता नं. २२०१ को ५ रोपनी ३ आना जग्गा खरिद गरी प्रहरी चौकी खर्बाङको नाममा नामसारी गरिएको छ। जग्गा खरिद तथा नामसारी प्रक्रिया सम्पन्न गरी हाल सो जग्गाको लालपुर्जा प्रहरी कार्यालयलाई औपचारिक रूपमा उपलब्ध गराइएको छ।

प्रहरी सेवा विस्तार र पूर्वाधार सुदृढीकरणका लागि गरिएको यस कदमले चौकी सञ्चालन र सेवा प्रभावकारिता बढाउने विश्वास लिइएको छ। स्थानीयवासी र सरोकारवालाहरूले सहयोग गरेकामा प्रहरीले आभार व्यक्त गरेको छ।



