
काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रहरी अस्पतालका कर्मचारीहरूलाई सामूहिक भावना र व्यावसायिकता प्रदर्शन गर्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन्।
बुधबार नेपाल प्रहरी अस्पताल, महाराजगञ्जको निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उनले भने, “सामूहिक भावना र थप व्यावसायिकता प्रदर्शन गर्दै अब्बल कटिबद्धताका साथ सेवा प्रदान गर्नुहोस्।”

आईजीपी थापाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै भौतिक र प्राविधिक स्तरोन्नति तथा कर्मचारीको वृत्ति विकासमा संगठन सदैव सकारात्मक रहेको स्पष्ट पारे।
उनले प्रहरी अस्पताललाई अझ प्रभावकारी, नागरिकमैत्री र विश्वसनीय सेवा केन्द्रका रूपमा विकास गर्न कर्मचारीहरूको समर्पण र सहकार्य अपरिहार्य रहेको बताए।



