
महोत्तरी —जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले निरन्तर सञ्चालन गरिरहेको सडक सुरक्षा सचेतना अभियानको प्रभावस्वरूप जिल्लामा सडक दुर्घटनाको संख्या तथा मानवीय क्षति क्रमशः घट्दै गएको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक तुलना गर्दा योजनाबद्ध ढंगले सञ्चालन गरिएका जनचेतनामूलक कार्यक्रमहरूले सकारात्मक परिणाम दिएको देखिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार, “सडक सचेतनाका कार्यक्रमहरू प्रभावकारी भएका छन्। आर्थिक वर्ष २०७८/७९ यतादेखि चालु आवसम्म दुर्घटना र क्षतिमा निरन्तर कमी आएको छ।”


तथ्यांकले के भन्छ?
• आर्थिक वर्ष २०७९/८० मा ७४१ सडक दुर्घटना भएका थिए भने
• आव २०८०/८१ मा दुर्घटना संख्या घटेर ५०४ मा झरेको छ।
• घाइते हुनेको संख्या पनि सोही क्रममा १,१०७ बाट घटेर ७७२ मा सीमित भएको छ।
• मृतकको संख्या भने यी दुई वर्षमा बराबर — ६८ रहेको छ।
हालको वर्षमा केही वृद्धि तर सामान्य प्रकृतिका घटना चालु आर्थिक वर्ष २०८१/८२ का पहिलो १० महिनामा सानाठूला गरी कुल ५३४ सडक दुर्घटनाका घटना दर्ता भएका छन्। तीमध्ये १०० घटनालाई प्रहरी निरीक्षक जोशीले “सामान्य प्रकृतिका, कुनै क्षति नहुने” प्रकारका घटना भएको बताउनुभएको छ। उक्त अवधिमा ३१ जनाको मृत्यु र ५६५ जना घाइते भएको प्रहरीको अभिलेखमा उल्लेख छ।
दुर्घटनाको घट्दो प्रवृत्तिपछि सचेतना अभियानमा थप बल प्रहरीका अनुसार सवारी साधनको संख्या दिनप्रतिदिन बढ्दै गइरहेका बेला घट्दो दुर्घटना र क्षति ट्राफिक प्रहरीका सचेतनामूलक प्रयासहरूको सफल उदाहरण बनेको छ।
कार्यालयले चालक, यातायात मजदुर, यात्रु, सर्वसाधारण र विद्यार्थीहरूसम्म पुग्ने उद्देश्यले चरणबद्ध ढंगमा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
‘सडक सुरक्षा सप्ताह’– नवीन प्रयास—
हालै सुरु गरिएको ‘सडक सुरक्षा सप्ताह’ कार्यक्रम अन्तर्गत बर्दिवास, जलेश्वर, गौशाला, रामगोपालपुर, सम्सी लगायतका स्थानहरूमा विविध रचनात्मक गतिविधिहरू सहितको जनचेतनामूलक कार्यक्रमहरू गरिएका छन्।
कार्यक्रमको समापन आउँदो बुधबार गरिने तालिका रहेको छ।यसक्रममा स्थानीय तह, यातायात व्यवसायी संघसंस्था र आम जनसमुदायको सहकार्यले ट्राफिक प्रहरीलाई अझ सशक्त बनाएको प्रहरी निरीक्षक जोशीले बताएका छन्।
ट्राफिक प्रहरीको नेतृत्वमा सञ्चालन भइरहेका सडक सुरक्षा कार्यक्रमहरूले महोत्तरी जिल्लामा दुर्घटनाको जोखिम न्यूनीकरणमा उल्लेखनीय सफलता प्राप्त गरेको छ। अबका दिनमा यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ।




