
पोखरा । समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधासम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ ।
मुक्तिनाथ मन्दिर नजिकै रु तीन करोड ६० लाख ५२ हजार ८८ लागतमा भवन निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालयले पाँच रोपनी तीन आना क्षेत्रफल जग्गामा तीन तलाको ब्यारेक भवन, भान्छा कोठा र शौचालय निर्माण गरेको हो । यसअघि रानीपौवाको पुरानो धर्मशालाका चार कोठाबाट कार्यालय सञ्चालन भइरहेको थियो ।

रानीपौवा क्षेत्रको सुरक्षालाई ध्यान दिँदै अब नयाँ भवनबाटै कार्यालय सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए । मुक्तिनाथमा प्रहरी निरीक्षकको नेतृत्वमा १३ प्रहरी कार्यरत छन् ।



