
काठमाडौँ। सरकारले केहि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने तयारी थालेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले एआइजीहरुको सरुवा गर्ने गरी तयारी थालिएको हो ।सरुवामा काठमाडौं उपत्यका प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा जान एआईजीहरुबीच तीव्र प्रतिस्पर्धा छ ।
गृहमन्त्रालय उच्च स्रोतका अनुसार नयाँ सरकारले सरुवा गर्ने तयारी गरेसँगै रोजेका ठाउँमा जानका लागि एआईजीहरु शक्तिकेन्द्र धाउन थालेका छन् । सरुवामा उपत्यका प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) प्रमुख पनि परिवर्तन हुने बताइएको छ ।

उपत्यका कार्यालयका प्रमुख एआईजी दीपक थापाको एक वर्ष अवधि पुगेकाले सरुवा हुन लागेको हो । त्यहाँ सरुवाका लागि किरण बज्राचार्य , टेकप्रसाद राई, टेकप्रसाद तामाङ तथा भिमप्रसाद ढकाल बीच प्रतिस्पर्धा छ ।
स्रोतका अनुसार काठमाण्डौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापालाई सरुवा गरेर सिआईबी लगिँदैछ । नेपाल प्रहरीमा आफुलाई व्यवसायिक र अव्बल अफिसरको परिचय बनाएका एआईजी थापा भावी आइजीका दावेदार पनि हुन् । डीएसपी हुँदा काठमाडौं उपत्यकाकै प्रहरी बृत महाराजगन्ज र एसएसपी हुँदा काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको नेतृत्व सम्हालि सकेका थापा उपत्यका प्रहरी प्रमुख भएसँगै थुप्रै महत्वपूर्ण काम गरेको बताइन्छ ।
यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागको नेतृत्व सम्हालिरहेकी किरण बज्राचार्यको भने काठमाण्डौँ उपत्यका प्रहरी कार्यालय सरुवा हुने सम्भावना बढि छ । यद्यपी, उपत्यका प्रहरी कार्यालयमा जानका लागि भने अन्य एआइजीहरु पनि दौडधुप गरिरहेको स्रोत बताउँछ । तर, एआइजी बज्राचार्य नै काठमाडौ उपत्यका प्रहरी कार्यालयमा बढी सम्भावना रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङको भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा हुने सम्भावना स्रोत बताउँछ । केन्द्रिय अनुसन्धान व्यूरोमा रहेका श्यामलाल ज्ञवालीको भने राष्ट्रिय सुरक्षा परिषदमा सरुवा हुने सम्भावना रहेको स्रोत बताउँछ ।
यता भर्खरै एआईजीमा बढुवा सिफारिस भएका रामदत्त जोशीलाई भने खाली रहेको प्रदेश समन्वय विभागमा पदस्थापना गर्ने तयारी भएको प्रधान कार्यालय स्रोतले बतायो । उजुरीको समय सकिएकाले अब आउने बिहीबारको मन्त्रिपरिषद्को बैठकले बढुवा, पदस्थापन र सरुवाको निर्णय गर्ने सम्भावना छ ।यद्यपी अहिलेसम्म प्रहरी नेतृत्वले तयार पारेको सुची आउट भने भइसकेको छैन ।
प्रहरीलाई सरकारले खेलौना बनाएको छ । मन लाग्दा बढुवा गर्ने र नलागे नगर्ने,’ रिक्त हुँदाहुँदै बढुवा प्रक्रिया नै रोकिएकोमा असन्तुष्टि जनाउँदै एक एसएसपी आरोप लगाउँछन्, ‘सर्वसाधारणको शान्तिसुरक्षासँग जोडिएको सुरक्षानिकायमा यति धेरै राजनीतिक खिचातानी अनुचित छ । जसलाई बढुवा गरे पनि भ्याकुम बनाउनुभएन ।
उनले समयमै गर्नुपर्ने सरुवा बढुवा नभएपछि त्यसले प्रहरीको मनोबल खस्केको समेत बताए । प्रहरीको बढुवामा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले बढुवा समिति तथा प्रहरी मुख्यालयको भूमिका खुम्चिएको छ ।
नेपाल प्रहरीको एआईजी, डीआईजी, एसएसपी, एसपी मात्र नभएर जुनियर अधिकृत लगाएत तल्लो दर्जाका राष्ट्रसेवक समेत बढुवामा पहुँचवालाहरुको बोलवाला हुँदा इमान्दार प्रहरी अधिकृत चरम अन्यायमा परेका छन्।



