
काठमाडौं । गृह मन्त्रालयले केही अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा प्रक्रियालाई अन्तिम रूप दिने तयारी गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी कार्यालय दुवै रिक्त रहेकाले सरुवा र पदस्थापनको चहलपहल बढेको मन्त्रालय स्रोतले जनाएको छ।
उपत्यका प्रहरी कार्यालयमा कार्यरत दानबहादुर कार्की आईजीपीमा नियुक्त भएपछि उपत्यकाको प्रमुख पद १० दिनदेखि रिक्त छ। उक्त रिक्त पदमा ईश्वर कार्कीको बढुवा सिफारिस भइसकेको छ। उनको बढुवा र पदस्थापनपछि एआईजी तहमा जिम्मेवारी हेरफेर हुने सम्भावना बढेको बताइन्छ।

आईजीपी कार्कीकै ब्याचका राजन अधिकारी र मनोज केसी उपत्यका कमाण्डका सम्भावित दाबेदार हुन्। तर, हालको संवेदनशील अवस्था र ‘कठिन समय’ भन्दै उनीहरू उपत्यकाको नेतृत्व सम्हाल्न इच्छुक नसकेको स्रोतको दाबी छ।
एआईजीहरू उमाप्रसाद चतुर्वेदी, सुशीलसिंह राठौर र हिमालय श्रेष्ठ भने सरुवा इच्छुकको सूचीमा छन्, जबकि शिद्धिबिक्रम शाहले सरुवाप्रति खास चासो नदेखाएको बताइन्छ। बढुवा सिफारिस भएका ईश्वर कार्की पनि उपत्यकामा पदस्थापनका लागि सक्रिय छन्, तर तत्कालै कमाण्ड सम्हाल्न नसक्ने चर्चा समेत छ।
उता, कोशी प्रदेशमा डीआईजी पदका लागि आधा दर्जन दाबेदार सक्रिय दौडधुपमा छन्। पुराना ब्याचका बिनोद घिमिरे, सुरेन्द्र गुरुङ, सुदर्शन कोइराला, दिपक रेग्मी दाबी प्रस्तुत गरिरहेका छन्।




